News माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
गोलनेपाल

काठमाडौं । माल्दिभ्स एफएको ७५औं वार्षिकोत्सवको अवसरमा चार देशीय डायमण्ड जुब्लि कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता माल्दिभ्समा शुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन दुई खेलहरु सम्पन्न भए । उद्घाटन खेलमा बंगलादेश (ओलम्पिक)ं र पाकिस्तानले गोलरहित बराबरी खेल्दा अर्को खेलमा अफगानिस्तानले आयोजक माल्दिभ्सलाई १–० ले हरायो ।

प्रतियोगितामा यसअघि श्रीलंकाले खेल्ने भनिए तापनि अन्तिम समयमा आएर नखेल्ने भएपछि अफगानिस्तानलाई आमनत्रण गरिएको हो ।

त्यस्तै बंगलादेशको सिनियर टोली युरोपतिर व्यस्त रहने खेलतालिका भएकाले ओलम्पिक टोलीलाई समावेश गरिएको बताइएको छ । यद्यपि बंगलादेशको टोलीमा अधिकांश सिनियर टोली कै सदस्य पनि छन् ।

माले स्थित नेशनल फुटबल स्टेडियममा जारी प्रतियोगितामा कुल चार टोलीहरु सहभागि छन । लिग चरणको खेलहरुपश्चात शिर्ष दुई टोलीहरु फाइनलमा प्रवेश गर्नेछन् ।

यस प्रतियोगितालाई यही सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारी प्रतियोगिताका रुपमा समेत हेरिएको छ ।

 

Post Comments