News पञ्चपुरी र सिम्ताको जीतसँगै सेमीफाइनल समीकरण पूरा
गोलनेपाल

वीरेन्द्रनगर । मंगलबार कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल अन्तर्गत सम्पन्न बाँकी दुई क्वार्टरफाइनल खेलबाट पञ्चपुरी, सुर्खेत र सिम्ता, सुर्खेतले शानदार जीत दर्ता गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेका छन्। यससँगै प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ।

बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा पञ्चपुरी, सुर्खेतले बन्गाड कुपिण्डे, सल्यानमाथि ७–२ को शानदार जीत दर्ता गर्यो। खेलको १४औँ र १७औँ मिनेटमा कप्तान धनसिंह बि.के.ले लगातार दुई गोल गर्दै पञ्चपुरीलाई बलियो सुरुआत दिलाए। ३६औँ मिनेटमा महेन्द्र बि.के.ले अर्को गोल थपेपछि पञ्चपुरी ३–० ले अघि बढ्यो। ३८औँ मिनेटमा प्रदीप बि.के.ले बन्गाड कुपिण्डेका लागि गोल फर्काउँदै पहिलो हाफ ३–१ मा सकियो।

दोस्रो हाफको ४९औँ मिनेटमा उपेन्द्र शाहीले गोल थपे भने ५४औँ मिनेटमा चिरन कार्कीले पञ्चपुरीको अग्रता अझ फराकिलो बनाए। ७१औँ मिनेटमा धनसिंह बि.के.ले ह्याट्रिक पूरा गरे। ७६औँ मिनेटमा केशव केसीले बन्गाड कुपिण्डेका लागि दोस्रो गोल गरे पनि ७८औँ मिनेटमा धनसिंह बि.के.ले व्यक्तिगत चौथो गोल गर्दै पञ्चपुरीको ७–२ को फराकिलो जीत सुनिश्चित गरे। चार गोलसहित उत्कृष्ट प्रदर्शन गरेका धनसिंह बि.के. खेलको प्लेयर अफ द म्याच घोषित भए। साथै उनले प्रतियोगितामा दुई खेलबाट सात गोल पूरा गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा उक्लिएका छन्।

दिउँसो सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा सिम्ता, सुर्खेत र कालीकोटबीच निर्धारित समयमा १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। खेलको ८औँ मिनेटमा तुषार आग्रीले गोल गर्दै सिम्तालाई अग्रता दिलाएका थिए। पहिलो हाफ १–० ले सिम्ताकै पक्षमा समाप्त भयो।

दोस्रो हाफमा सुनील मल्लाले कालीकोटका लागि बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए। निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा सिम्ताले ४–१ को जीत निकाल्दै सेमीफाइनलमा स्थान सुरक्षित गर्यो। खेलभर उत्कृष्ट गोलरक्षण गर्दै टोलीको जीतमा महत्वपूर्ण योगदान पुर्याएका अभिषेक लम्साल प्लेयर अफ द म्याच घोषित भए।

कर्णाली प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गरेको छ भने जिल्ला फुटबल संघ सुर्खेतले प्राविधिक सहयोग प्रदान गरिरहेको छ। प्रतियोगिताको उद्घाटन जेठ १५ गते कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रमुख अतिथिका रूपमा उद्घाटन गर्नुभएको थियो।

जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ २१ गते दिउँसो ३ बजे हुने तय गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ७ विभिन्न विधामा जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था रहेको छ।

Post Comments