वीरेन्द्रनगर । बुधबार कर्णाली प्रदेश स्तरीय प्रथम मेयर कप फुटबल अन्तर्गत सम्पन्न दुई सेमीफाइनल खेलबाट वीरेन्द्रनगर, सुर्खेत र जुम्लाले शानदार जीत दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेका छन्। यससँगै प्रतियोगिताको उपाधि भीडन्त तय भएको छ।
बिहान सम्पन्न पहिलो सेमीफाइनल खेलमा वीरेन्द्रनगर, सुर्खेत र पञ्चपुरी, सुर्खेतबीच निर्धारित समय गोलरहित ०–० को बराबरीमा सकिएको थियो। दुवै टोलीले खेलभर उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा गोल निकाल्न सकेनन्। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टी सुटआउटमा दुवै टोली ४–४ को बराबरीमा पुगेपछि खेल सडेन डेथमा धकेलिएको थियो। सडेन डेथमा वीरेन्द्रनगरले ६–५ को रोमाञ्चक जीत निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्यो। खेलभर उत्कृष्ट गोलरक्षण गर्दै टोलीलाई फाइनल पुर्याउन महत्वपूर्ण भूमिका खेलेका गोलरक्षक सुबबहादुर शाही प्लेयर अफ द म्याच घोषित भए।
दिउँसो सम्पन्न दोस्रो सेमीफाइनल खेलमा जुम्लाले सिम्ता, सुर्खेतमाथि ४–० को प्रभावशाली जीत दर्ता गर्दै फाइनल यात्रा तय गर्यो। खेलको ४०औँ मिनेटमा देवीजंग खत्रीले गोल गर्दै जुम्लालाई अग्रता दिलाए। पहिलो हाफ १–० ले जुम्लाकै पक्षमा समाप्त भयो।
दोस्रो हाफमा जुम्लाले खेलमाथि आफ्नो पकड कायम राख्यो। ४४औँ मिनेटमा धर्मेन्द्र कुँवरले गोल थप्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफमा मैदान प्रवेश गरेका रुबिन भण्डारीले ५९औँ मिनेटमा गोल गर्दै जुम्लालाई ३–० को अवस्थामा पुर्याए। त्यसपछि ६७औँ मिनेटमा धर्मेन्द्र कुँवरले व्यक्तिगत दोस्रो गोल गर्दै जुम्लाको ४–० को शानदार जीत सुनिश्चित गरे। उत्कृष्ट प्रदर्शन गरेका देवीजंग खत्री खेलको प्लेयर अफ द म्याच घोषित भए।
कर्णाली प्रदेश फुटबल संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा वीरेन्द्रनगर नगरपालिकाले संरक्षकको भूमिका निर्वाह गरेको छ भने जिल्ला फुटबल संघ सुर्खेतले प्राविधिक सहयोग प्रदान गरिरहेको छ। प्रतियोगिताको उद्घाटन जेठ १५ गते कर्णाली प्रदेश फुटबल संघका अध्यक्ष प्रमोद हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रमुख अतिथिका रूपमा उद्घाटन गर्नुभएको थियो।
जेठ १५ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल जेठ २१ गते दिउँसो ३ बजे कर्णाली प्रदेश रंगशालामा हुने तय गरिएको छ। प्रतियोगिताको विजेता टोलीले नगद ४ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद २ लाख रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ। साथै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ७ विभिन्न विधामा जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २ हजार रुपैयाँ प्रदान गरिने व्यवस्था रहेको छ।