News नेपाललाई फेरि बंगलादेश नै बाधक
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली भारतको गोवामा जारी प्रतिष्ठित साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशससँग १–२ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।

नेपाल र बंगलादेश गत संस्करणको फाइनलिस्ट पनि हुन् । गत संस्करणको फाइनलमा पनि बंगलादेशले नेपालमाथि समान २–१ को जित निकाल्दै उपाधि उचाल्न सफल भएको थियो ।

बुधबार भने नेपालले शुरुवाती अग्रता लिएर त्यसलाई जोगाउन नसक्दा नतिजा विपक्षीलाई सुम्पिन पुग्यो । खेलको २२औं मिनटमा गीता रानाको गोलबाट नेपालले खेलमा अग्रता बनाएको थियो ।

तर, पहिलो हाफ कै अतिरिक्त समयमा रितु चक्माले बंगलादेशका लागि बराबरी गोल फर्काईन् । कर्नरबाट रितुले प्रहार गरेको बल नेपाली गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले जोगाउन सकिनन् । पहिलो हाफ १–१ को बराबरीमा सकिए पनि खेलमा नेपालले राम्रो पकड बनाएको थियो । तर अन्तिमतिर इन्जुरी समयमा मोसम्मत सगोरिकाले कमजोर नेपाली रक्षापंक्तिको फाईदा उठाउँदै दोस्रो तथा निर्णायक गोल गरिन् र टोलीलाई उपाधि नजिक पुर्याउन सफल भईन् ।

 

Post Comments