News हेटौंडा मेयर कपको उद्घाटनमा १ र ११ नम्बर खेल्ने
बिक्रम बानियाँ क्षेत्री

यही फागुन १४ गतेबाट सञ्चालन हुन लागेको हेटौंडा मेयर कप फुटबल प्रतियोगिताको उद्घाटनमा हेटौंडाको १ र ११ नम्बर वडा भिड्ने भएका छन् ।

बुधबार खेलतालिका सार्वजनिक सार्वजनिक गरिएको हो । वडाका प्रतिनिधिको रोहवरमा नगरपालिकामा खेल तालिका बनाइएको हो । २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा उपमहानगरपालिकाको १९ वटै वडाको सहभागिता रहने छ ।

हेटौंडाको हुप्रचौरमा सञ्चालन हुने प्रतियोगिताको तयारी करिब पूरा भएको आयोजकले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

मेयर कप फुटबल प्रतियोगिताको लागि बजेट कम भएको स्वीकार गर्दै मेयर हरिबहादुर महतले आगामी बर्षबाट बढ्ने बताए ।

प्रतियोगिता सञ्चालनको लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सबै खेलाडीको बिमा गरिएको हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले जानकारी दिए । मेयर कप फुटबलको अघिल्लो संस्करण हेटौंडाको १० नम्बर वडाले जितेको थियो ।

Post Comments