News रुपन्देहीमा दोस्रो जागृति कप शुरु
सुरज राना मगर

सखुवानी । जागृति क्लब सखुवानी, तिलोत्तमा–१५, रुपन्देहीको आयोजनामा शनिबारदेखि दोस्रो जागृति कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

तिलोत्तमा–१५ स्थित मधवलिया माविको खेलमैदानमा भएको उद्घाटन खेलमा चिया चाह एफसीले न्यु सृजना क्लबलाई ३–१ ले हराउँदै विजयी शुरुवात गर्यो ।

चिया चाहको जितमा सुमित पुलामीले दुई गोल गर्दा थप एक गोल सुशिल राईले गरे । पराजित न्यु सृजनाका लागि भने रिजन रानाले एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलमा चिया चाहका सुशिल राई प्लेयर अफ द म्याच बने ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ का वार्ड अध्यक्ष खेमराज गुरुङले गरेका थिए । सो अवसरमा आयोजक क्लबका अध्यक्ष जगत बहादुर राना, विशिष्ठ अतिथी तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ की वार्ड सदस्य क्षितिजा पौडेल क्षेत्री, वार्ड सचिव मान बहादुर खाती, मधवलिया माविका प्राचार्य शेर बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।

आउँदो कार्तिक २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले २६ हजार प्राप्त गर्ने कार्यक्रम संयोजक झक बहादुर गुरुङले बताए ।

कुल २८ टोलीहरु सहभागि प्रतियोगिताको विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लब कै सचिव अभिषेक न्यौपानेले जानकारी दिए ।

 

Post Comments