News दोस्रो न्यु इरा कप शुरु, बुद्ध भूमिको विजयी शुरुवात
सुरज राना मगर

बुटवल । शनिबारदेखि रुपन्देहीको सैनामैना नगरपालिकामा शुरु दोस्रो न्यु इरा कप नकआउट फुटबल प्रतियोगितामा बुद्ध भूमि फुटबल एकेडेमीले विजयी शुरुवात गरेको छ ।

सैनामैना नगरपालिका–१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा भएको उद्घाटन खेलमा बुद्ध भूमिले न्यु इरा युथ क्लब माथि ५–१ को फराकिलो जित निकाल्यो । बुद्ध भूमिको जितमा बिमल बिकले प्रतियोगिता कै पहिलो ह्याट्रिकसहित चार गोल गरे ।

बिकले खेलको २५, २६ र ४१औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै थप एक गोल भने ४५औं मिनटमा गरेका थिए । त्यस्तै बिमल श्रीसले ५५औं मिनटमा बुद्ध भूमिका लागि पाँचौं गोल थपेका थिए ।

उता पराजित न्यु इराका लागि बिजय सुनारले ५४औं मिनटमा एक मात्र सान्त्वना गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच बुद्ध भूमिका लागि ४ गोल गरेका बिमल बिक घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन १६ गते आइतबारको खेल सेभेन स्टार एफसी र नव प्रतिभा युवा क्लबबीच हुने खेल संयोजक सुनिल शाहीले जानकारी दिए । त्यसअघि शनिबार प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकका मेयर चित्र बहादुर कार्कीले गरेका थिए ।

नव युग युवा क्लब, सैनामैना–१, बनकट्टाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने संयोजक शाहीले बताए । फाइनल खेल फागुन २५ गतेका दिन हुनेछ ।

Post Comments