News ब्वाईज युनियनको जितमा मिलनको ह्याट्रिक
गोलनेपाल

काठमाडौं । मिलन लिम्बु एक्लैले ह्याट्रिक गरेपछि शहिद स्मारक बी डिभिजन लिगतर्फ आइतबार ब्वाइज युनियन क्लबले नयाँ बस्ती युवा क्लबमाथि ३–० को जित निकालेको छ ।

एन्फा कम्प्लेक्समा सम्पन्न खेलको २१औं मिनटमा मिलनले पहिलो गोलको खाता खोलेका थिए । पहिलो हाफ कै अतिरिक्त समयमा मिलनले त्यो अग्रता दोब्बर पारे भने ५७औं मिनटमा तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक समेत पूरा गरे ।

यो जितपछि ८ खेलबाट १४ अंक जोडेको ब्वाईज युनियन लिगतालिकाको चौथो स्थानमा छ । पराजित नयाँ बस्ती भने ११ अंकका साथ पाँचौं स्थानमा छ ।

खुमलटारसँग झम्सीखेल निराश

त्यसैगरी आइतबार नै भएको अर्को खेलमा दोस्रो स्थानको टोली खुमलटार युथ क्लबले झम्सीखेल युथ क्लबमाथि १–० को साँघुरो जित निकाल्यो । खुमलटारको जितमा खेलको शुरुवात मै महेश राईले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

यो जितपछि ८ खेलबाट १९ अंक जोडेको खुमलटार दोस्रो स्थानमा छ र लिगलिडर सातदोबाटो युथ क्लबसँग अंक बराबरी गर्न सफल भएको छ । यद्यपि सातदोबाटोले एक खेल कम खेलेको छ । उता पराजित झम्सीखेल भने ६ अंकका साथ दशौं स्थानमा छ ।

Post Comments