न्युज फुटबल कै ‘इख’ले फुटबलमा जमेका ‘धनकुटे सुमन’
गोलनेपाल

पश्चिम नेपालको सुर्खेत जिल्लामा वि.सं. २०३६ माघ १३ गतेका दिन जन्मिएका सुमन श्रेष्ठको नाम नेपाली फुटबलमा परिचित नामका रुपमा स्थापित छ । बाबु कृष्ण भागवत श्रेष्ठ र आमा प्रेम कुमारी श्रेष्ठको कोखबाट तेस्रो सन्तानको रुपमा जन्मिएका सुमन परिवारको चार सन्तान मध्ये एक्ला छोरा हुन । उनका दुई दिदि र एक बहिनी छन ।

सुर्खेत जन्म भए पनि सुमन एक वर्षको नहुदै धनकुटा आएको साथै उनको पूर्खेली थलो धनकुटा नै रहेको श्रेष्ठ बताउँछन । बाल्यकालमा निकै चञ्चले स्वभावका र साथीभाइहरुसंग छिटै घुलमिल हुन सक्ने स्वभाका श्रेष्ठले धनकुटाबाटै २०५६ सालमा गोकुनश्वर बाल मन्दिर माध्यमिक विद्यालयबाट एस.एल.सी. पास गरेका थिए ।

सानै उमेरदेखि खेलप्रति मोह रहेका सुमनले साथीभाइले खेलेको देखेर उनीहरुसंगै कहिले मोजाको बल त कहिले भोगटेको बल बनाएर खेलेको आजै जस्तो लाग्ने स्मरण गर्छन् । विद्यालयस्तरको प्रतियोगिता हुँदा कप्तानको भुमिकामा समेत उत्रिने सुमनले थुप्रै खेलहरुमा म्यान अफ द म्याचको पुरस्कार जितेको पनि बताए ।

सानैबाट फुटबलतर्फ लागेका सुमनलाई परिवारको पनि राम्रो समर्थन थियो । बाबु कृष्ण भागवतले त्यतीखेर जोगमुनीबाट रु २५० मा गोलचिल नामको फुटबल बुट ल्याइदिएको र त्यो बुटलाई पहिलोपटक लगाएर खेलेको क्षणलाई कहिल्यै नबिर्सने संस्मरणका रुपमा रहेको बताउँछन् श्रेष्ठ ।

फुटबल भन्ने बित्तिकै हुरुक्कै हुने सुमनले १५ वर्षकै उमेरमा धनकुटा जिल्लाबाट विराटनगरमा हुने खुकुरी कप खेल्दाको एउटा घट्ना सम्झिन्छन् । त्यो खेलमा सुमनले पास दिदा ड्रिबलिङ्ग गरेर दियो भन्दै साथीले पास देको बल नलिए पछि सुमन रिसाउदै मैदान बाहिर निस्किएका थिए । त्यो घट्नापछि उनलाई धनकुटाको टिमबाट पनि निष्काशित गरिएको थियो । यो घट्नाले त्यतिबेला आफू निकै तनाव र चिन्तामा परेको समेत सम्झन्छन् श्रेष्ठ ।

त्यहि इखले सुमन त्यस समय उनले व्याइज युनियनबाट खेल्न थाले । ‘इख विनाको मान्छे र विष विनाको सर्प काम लाग्दैन’ भने झै इखैले उनी फुटबलमा थप अगाडी बढ्न थाले र त्यसमा सफल पनि भए ।

त्यतिबेलाको चल्तीका क्लबहरु ब्वाइज युनियन, जावलाखेल र न्युरोड टिम (एनआरटी) बाट व्यवसायीक फुटबल खेलेका सुमनले लिग भने केवल ३ वर्ष मात्र खेल्न पाए । त्यतीबेला लिग खेल्दा उनलाई सुमन श्रेष्ठ भन्दा पनि धनकुटे सुमन उपनामले सबैले चिन्ने गरेको साथै त्यतीबेला धनकुटाबाट लिग फुटबल खेल्ने आफू मात्र भएको र आफुलाई त्यो उपनामले बोलाउँदा निकै गर्व लाग्ने गरेको स्मरण समेत गरे ।

२०६४ साल देखि लिग नभए पछि सुमनले त्यतीबेला सन २००२ मा एएफसी सी कोचको लाइसेन्स लिइसकेका थिए । त्यसपछि जनमुक्ति सेनाको १ नम्बर डिभिजन इलामको चुलाचुलीमा सुमन प्रशिक्षकको भुमिकामा आफुलाई स्थापित गर्दै थिए ।

यसै क्रममा सुमनले २०५८ सालमा उषा श्रेष्ठसँग वैवाहिक जीवनमा बाधिंएका थिए । उनका १७ वर्षका छोरी जेनिशा श्रेष्ठ र ७ वर्षका छोरा स्वस्तिक श्रेष्ठ छन । अहिले उनको घरमा बाबु, आमा, श्रीमती र दुई सन्तान धनकुटामै बसोबास गर्दै आएका छन । आफ्नो परिवार हाल सुखमय रुपमा बितिरहेको समेत बताउँछन् सुमन ।

आफु खेलाडी हुँदा र अहिले प्रशिक्षक हँुदा निकै भिन्न रहेको अनुभव सुनाउँछन् श्रेष्ठ । ‘खुकुरीलाई के थाहा अचानोको चोट भने झै खुकुरीले केवल काट्ने मात्र काम गर्छ भने अचानोले सबै चोट सहेर बस्छ ।’ ठीक त्यस्तै खेलाडीलाई राम्रो खेल्नु र टिमलाई जिताउनु पर्ने दबाब हुन्छ भने प्रशिक्षकलाई यी सबै कुराको समाधान गर्नुपर्छ ।

जग जाहेरै छ, नेपालको लिग अझै प्रभावशाली हुन सकेको छैन । सुमन भन्छन, “एउटा क्लब लिग र अर्को राष्ट्रिय लिग हुन अति आवश्यक रहेको छ । अहिले भइरहेको लिगमा पूर्वबाट मात्र लगभग ३०० जनाले ए डिभिजन लिग खेल्ने गरेका छन् । एन्फाले पनि यस विषयमा आवश्यक कार्य गरिरहेको छ । यसो गर्दा खेलाडीको स्तर बढ्नुको साथै राम्रो खेलाडी पनि उत्पादन हुन्छ ।”

नेपालको मोफसलको प्रतियोगिता अलि व्यवस्थित नभएको कुरा हामी सबैलाई थाहा नै छ । एउटा प्रतियोगिता नसकीकन अर्को प्रतियोगिता हुने गरेकाले खेलाडी त मारमा परेको छ साथै क्लबलाई पनि गाह्रो छ । एन्फाले यसबारे आवश्यक नीति नियम कहिले लागु गर्ला थाहा भएन तर नेपालमा हुने प्रतियोगिताको वर्गीकरण भने गरेको छ ।

ए, बी र सी डिभिजनका क्लबहरुलाई पनि यसरी नै ए, बी र सी गरी प्रतियोगिताको समुह छुट्याएको छ । १०, ८ र ६ लाख पुरस्कार राशी भएको प्रतियोगितामा ए, बी र सी डिभिजनका क्लबहरु सहभागिता जनाउने पाउने छन् ।

नेपालमा अझै पनि फुटबल खेलाडीहरुको पहिले कै अवस्था रहेको छ । बाहिरी देशको खेलाडी र हाम्रो देश नेपालको खेलाडीमा धेरै फरक देख्न सकिन्छ । खेलेर घरपरिवार पाल्न गाहे छ । सुमन भन्छन, “एन्फा र नेपाल सरकार दुवैले यो कुरामा विशेष ध्यान दिनुपर्छ । खेलाडी भनेको देशको गहना हुन । राष्ट्रका लागि खेल्ने सबै खेलाडीहरुका परिवारलाई शिक्षा, स्वास्थ्य, यातायात जस्ता सेवा प्रदान गर्नु पर्छ । जसले गर्दा खेललाई आफ्नो भविष्य मान्नेहरुलाई उचित हौसला मिल्नेछ ।”

स्मरण रहोस, सुमनले गत बर्ष सम्पन्न भएको २०७५ को सहित स्मारक ए डिभिजन लिगमा मनाङ्ग मस्र्याङ्दी क्लबलाई लिग विजेता बनाउनमा ठूलो भुमिका खेलेका थिए । त्यतीबेला सुमनले उत्कृष्ट प्रशिक्षक बन्दै मोटरसाइकल समेत प्राप्त गरेका थिए । उनले नेपालको यू–२३ टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी समेत सम्हालि सकेका छन् ।

हाल सुमन प्रदेश नम्बर १ को मुख्य प्रशिक्षक तथा एन्फा एकेडेमीको यु–१३ को प्रशिक्षकको रुपमा धरानको एन्फा एकेडेमीमा प्रशिक्षकीय जिम्मेवारी निभाउन व्यस्त छन् । नेपाली फुटबलमा जति निराशा पाउँछन्, त्यति आशा पनि देख्छन सुमन ।

फुटबल मै आफूलाई समर्पित गरेका सुमनले आउने दिनहरुमा पनि नेपाली फुटबलकै विकासमा सधै लागि पर्ने चाहना र योजना रहेको समेत बताए ।

Post Comments