काठमाडौं (एजेन्सी) । पूर्वी एसियाली फुटबल महासंघको आयोजनामा हुँदै आएको प्रतिष्ठित इस्ट एसियन फुटबल च्याम्पियनसिप (इफ इ–वान) को उपाधि तेस्रोपटक जापानले जितेको छ ।
मंगलबार भएको फाइनलमा जापानले आयोजक समेत रहेको चिरप्रतिद्वन्द्वी दक्षिण कोरियालाई १–० को साँघुरोले अन्तरले हराउँदै लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको हो ।
कोरियाली शहर योङजिन स्थित योङजिन स्टेडियममा भएको खेलमा जापानका लागि आठौं मिनट मै रयो जर्मेनले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
स्मरण रहोस, दुई वर्ष अघि जापान मै सम्पन्न गत संस्करणको फाइनलमा पनि जापानले दक्षिण कोरियालाई ३–० ले हराउँदै उपाधि जित्न सफल भएको थियो ।
त्यस्तै चीनले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा चीनले हङकङलाई १–० को अन्तरले पराजित गर्यो । चीनले पनि गत संस्करणमा तेस्रो स्थान नै हासिल गरेको थियो ।