इलाम । इलामको माङसेबुङमा जारी १९ औं आत्मानन्द गोल्डकप फुटबल प्रतियोगितामा लेटाङ फुटबल क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ।
आज भएको प्रतिस्पर्धात्मक खेलमा आयोजक युथ अफ माङसेबुङलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै लेटाङले सेमिफाइनलको यात्रा तय गरेको हो।
खेलमा सुरुवाती अग्रता युथ अफ माङसेबुङले लिएको थियो। पहिलो हाफमा गोली लिम्बुको गोलमार्फत युथ अफ माङसेबुङले अग्रता बनाए पनि दोस्रो हाफको अतिरिक्त समयमा लेटाङका कप्तान सुशील राईले गोल गर्दै खेललाई १–१ को बराबरीमा फर्काएका थिए।
निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा लेटाङ फुटबल क्लबले ४ गोल गर्न सफल भयो भने युथ अफ माङसेबुङले ३ गोल मात्र गर्न सक्यो।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका लेटाङ फुटबल क्लबका गोलकिपर अजय 'म्यान अफ द म्याच' घोषित भए।
यसैगरी, प्रतियोगिताअन्तर्गत भोलि हुने खेल पनि निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। भोलि माङसेबुङ गाउँपालिका र आरएलएस दार्जिलिङ (भारत) बीच प्रतिस्पर्धा हुनेछ।
पुरस्कार तथा अतिरिक्त खेलहरू
आगामी मंसिर १७ गते फाइनल खेल हुने यस प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद ३ लाख ११ हजार १ सय ७३ रुपैयाँ प्राप्त गर्नेछ। यस्तै, उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित नगद २ लाख ११ हजार १ सय ७३ रुपैयाँ पाउनेछ।
विधागततर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदीयमान खेलाडी, अनुशासित खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही नगद ८ हजार १ सय ७३ रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।