News सुदूरपश्चिम प्रदेशव्यापी यू–१६ विद्यालयस्तरीय फुटबल प्रतियोगिता : सेमिफाइनल समीकरण पूरा
गोलनेपाल

बर्दगोरिया, कैलाली कैलालीमा जारी सुदूरपश्चिम प्रदेशव्यापी यू–१६ विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता २०८३ अन्तर्गत क्वार्टरफाइनल चरणका खेलहरू सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। आज सम्पन्न तीन क्वार्टरफाइनल खेलबाट कलम बम मेमोरियल इङ्लिस स्कुल, खड्ग मेमोरियल सेकेन्डरी स्कुल र कल्पवृक्ष इङ्लिस बोर्डिङ स्कुलले अन्तिम चारमा स्थान सुरक्षित गरेका छन्।

प्रतियोगिताको दोस्रो क्वार्टरफाइनल खेलमा कलम बम मेमोरियल इङ्लिस स्कुल, पहलमानपुरले कृष्ण माध्यमिक विद्यालय, बाघमारालाई ३–० गोलले पराजित गर्‍यो। कलम बमका लागि गणेश देउबा, सौगात धामी र कृष्ण प्रसाद गौतमले एक–एक गोल गरे। कलम बमका गणेश देउबा प्लेयर अफ द म्याच घोषित भए।

तेस्रो क्वार्टरफाइनल खेलमा खड्ग मेमोरियल सेकेन्डरी स्कुल, टीकापुरले मालिका माध्यमिक विद्यालय, चौमालालाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्‍यो। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। खड्गका पार्थ कुँवर प्लेयर अफ द म्याच बने।

अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय माध्यमिक विद्यालय, सोल्टा र कल्पवृक्ष इङ्लिस बोर्डिङ स्कुल, भजनीबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। पेनाल्टी सुटआउटमा कल्पवृक्षले ४–२ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो। कल्पवृक्षका गोलरक्षक रोशन साउद प्लेयर अफ द म्याच घोषित भए।

पहिलो क्वार्टरफाइनलमा उज्यालो शिक्षा सदनलाई टाइब्रेकरमा पराजित गर्दै महुन्याल माध्यमिक विद्यालय, बर्दगोरिया सेमिफाइनल प्रवेश गरिसकेको थियो। यससँगै महुन्याल, कलम बम, खड्ग र कल्पवृक्षले अन्तिम चारमा स्थान बनाएका छन्।

Post Comments