News सहज जितका साथ सिमानगर सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । सिमानगर एफसी रुपन्देहीमा जारी दोस्रो न्यु इरा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सोरौली एफसी माथि ४–० को सहज जित निकाल्दै सिमानगर अन्तिम चारमा प्रवेश गरेको हो ।

सैनामैना–१ बनकट्टा स्थित स्थानीय खेलमैदानमा भएको चौथो क्वाटरफाइनलमा सिमानगरका लागि मिशन दर्लामी एक्लैले दुई गोल गरे । मिशनले पहिलो गोल दोस्रो हाफको तेस्रो मिनटमै पेनाल्टीबाट गरेका थिए । दोस्रो हाफ कै १४औं मिनटमा कृष्ण गुरुङले त्यो अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनट लगतै मिशनले नै सुन्दर फ्रिकिकबाट सिमानगरको अग्रता तेब्बर पारे । खेलको अन्तिमतिर सुजन दर्जीले चौथो गोल गर्दै सिमानगरको शानदार र सहज जित पक्का गरेका थिए । खेलको म्यान अफ द म्याच सिमानगरका लागि दुई गोल गरेका मिशन दर्लामी घोषित भए ।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । प्रतियोगिता अन्तरगत फागुन २१ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल बुद्धभूमि एकेडेमी र राइजि–११ बीच हुने प्रतियोगिता संयोजक सुनिल शाहीले जानकारी दिए । दोस्रो सेमिफाइनल भने फागुन २३ गतेका दिन सिमानगर एफसी र नव प्रतिभा युवा क्लबबीच हुनेछ ।

नव युग युवा क्लब, सैनामैना–१ बनकट्टाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्ने संयोजक शाहीले बताए । प्रतियोगिताको फाइनल खेल भने फागुन २५ गतेका दिन हुनेछ ।

Post Comments