News हेटौंडा: क्याम्पाडाँडा खेल मैदानमा रंगशाला निर्माण अभियान सुरु
बिक्रम बानियाँ क्षेत्री

बागमती प्रदेशको राजधानी हेटौंडास्थित ५ नम्बर वडामा रहेको क्याम्पाडाँडा खेल मैदानमा रंगशाला निर्माण अभियान सुरु भएको छ ।

पिप्ले युवा क्लवको अगुवाई एवम् वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण अभियान सुरु भएको हो । यसै अभियान अन्तर्गत बिहीबार एथ्लेटिक्स रनिङ ट्रयाक निर्माणको शिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र वडा अध्यक्ष राजेश बानियाँ लगायतले ४ सय मिटर एथ्लेटिक्स रनिङ ट्रयाकको शिलान्यास गरेका हुन् ।

पिप्ले युवा क्लवको अगुवाईमा क्याम्पाडाँडाको खेल मैदानलाई व्यवस्थित गर्दै रंगशाला निर्माण अभियान थालनी गरिएको हो । मेयर महतले क्याम्पा मैदानलाई व्यवस्थित बनाउन र प्याराफिट निर्माणको लागि यस बर्ष ३० लाख रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आगामी बर्ष बजेट नै विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित खेल मैदान जरुरी रहेको धारणा राख्दै उनले पिप्ले युवा क्लव र अध्यक्ष सुशील घिमिरेको अगुवाईमा भैरहेको कामको उनले प्रशंसा गरे । यसअघि क्लवको अगुवाईमा पिप्लेमा व्यवस्थित कभर्ड हल निर्माण कार्य सम्पन्न भैसकेको छ । वडाले ट्रयाक निर्माणको लागि ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । वडा अध्यक्ष राजेश बानियाँले आगामी बर्ष थप बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाए । अन्तराष्ट्रिय मापदण्डको ८ लेनसहितको १० मिटर चौडाईको एथ्लेटिक्स ट्रयाक निर्माण हुनेछ । यसको लागि करिब ५० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । करिब डेढ महिनाभित्र ट्रयाक निर्माणको काम सम्पन्न गर्ने योजना रहेको पिप्ले युवा क्लव अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।

‘हेटौंडामा व्यवस्थित खेल मैदान, एथ्लेटिक्स ट्रयाकको अभाव रहेको छ । त्यसैलाई मध्यनजर गर्दै हामीले रंगशाला निर्माण अभियान सुरु गरेका हौं’, घिमिरेले भने, ‘हेटौंडामा ४ सय मिटरको एथ्लेटिक्स ट्रयाक कतैपनि छैन । सुरुमा ट्रयाक निर्माण गर्नेछौं, त्यसपश्चात प्याराफिट निर्माणको काम सुरु हुनेछ ।’ ट्रयाकभित्र स्तरीय फुटबल मैदान हुनेछ । सम्भव भएसम्म भलिवल, बास्केटबल लगायतको संरचना बन्ने उनले जानकारी दिए । क्याम्पाडाँडा खेल मैदानलाई खेलकुद हबको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष घिमिरेले सुनाए । करिब एक महिना अघि पिप्ले युवा क्लबका अध्यक्ष सुशील घिमिरेकै नेतृत्वमा हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि परिसरमा बहुउपयोगी कभर्ड हल निर्माणपश्चात उद्घाटन भइसकेको छ ।

Post Comments