News गोधुली रनिङ कप शुरु, वार्ड नम्बर १६ को शानदार शुरुवात
गोलनेपाल

धरान । सुनसरीको प्रतिष्ठित र पुरानो मध्ये एक २१औं गोधुली टुबोर्ग फुटबल रनिङ कप वार्डस्तरीय फुटबल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा वार्ड नम्बर १६ ले शानदार जितका साथ विजयी शुरुवात गर्यो ।

धरान रंगशालामा भएको उद्घाटन खेलमा वार्ड नम्बर १६ ले उत्कृष्ट पूनःरागमन गर्दै वार्ड नम्बर ७ माथि ५–१ को शानदार जित निकाल्यो । खेलको १२औं मिनटमा बिनेश तुलाधरको गोलबाट वार्ड नम्बर ७ ले खेलमा अग्रता बनाएको थियो । तर वार्ड नम्बर १६ ले दोस्रो हाफमा उत्कृष्ट पूनःरागमन गर्यो ।

५३औं मिनटमा सबिन राईले वार्ड १६ का लागि बराबरी गोल फर्काए । त्यसको तीन मिनट लगतै मन्दिप बस्नेतले दोस्रो गोल थपे भने ६२औं मिनटमा लोकेश लिम्बुले वार्ड १६ का लागि तेस्रो गोल गरे । दोस्रो हाफमा हावी बनेको वार्ड नम्बर १६ का लागि ६७ र ७१औं मिनटमा मन्दिप बस्नेतले लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीलाई पनि शानदार जित दिलाए ।

यो जितसँगै वार्ड नम्बर १६ प्रतियोगिताको प्रिक्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच वार्ड नम्बर १६ कै लोकेश लिम्बु घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत फागुन २३ गते आइतबारको खेल वार्ड नम्बर ८ र वार्ड नम्बर ३ बीच हुने आयोजकले जनाएको छ । यसअघि प्रतियोगिताको उद्घाटन वार्ड नम्बर १७ का वडा अध्यक्ष सुर्य बहादुर भट्टराईले गरेका थिए ।

गोधुली क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । कुल १९ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत्र ७ गतेका दिन हुनेछ ।

 

Post Comments