News नेपालले खेल्ने विश्वकप छनौटका सबै खेल कुवेतमा हुने
गोलनेपाल

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी) ले आफू मातहतका सदस्य राष्ट्रहरुसँग आवश्यक सल्लाह गरि फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनौट खेलहरु तटस्थ मैदानमा गर्ने भएको छ ।

छनौट प्रतियागितातर्फ समूह बी मा रहेको नेपालले तीन म्याच खेल्न बाँकी थियो । त्यसमध्ये नेपालले अष्ट्रेलिया विरुद्ध यहि मार्च महिनामा घरेलु मैदान मै खेल्ने तय पनि भइसकेको थियो । तर विश्वव्यापी महामारी कोभिड–१९ को त्रास हाल पनि कतिपय देशहरुमा कायम रहेकाले नेपालले घरमै खेल्ने म्याच पनि स्थगित हुन पुगेको थियो ।

एएफसीले गरेको नयाँ निर्णयसँगै नेपालले अष्ट्रेलियासहित जोर्डन र चाइनिज ताइपेईसँग खेल्न बाँकी रहको सबै खेलहरु कुवेतमा हुने भएको छ । जुन खेलहरु आगामी जुन महिनाको पहिलो सातादेखि हुन सक्ने बताइएको छ ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक छ र समूहको चौथो स्थानमा छ । साथै नेपालको एएफसी एसियन कप २०२३ खेल्ने सम्भावना भने कायम छ । शिर्ष स्थानमा भने ४ खेलबाट १२ अंक जोडेको अष्ट्रेलिया छ ।

५–५ खेलबाट समान १०–१० अंक जोडेका कुवेत र जोर्डन भने क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै अंकविहीन चाइनिज ताइपेई भने पुछारमा छ । नेपालले समूह चरणतर्फ एक मात्र जित हात पार्ने क्रममा ताइपेईलाई नै उसकै घरमा २–० ले हराएको थियो ।

Post Comments