News एपीएफलाई स्तब्ध पार्दै सर्लाहीको बागमती यूथ क्लव क्वार्टरफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह सहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफलाई स्तब्ध पार्दै सर्लाहीको बागमती यूथ क्लव क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बागमतीले एपीएफलाई २–१ गोल अन्तरले हराएको हो । विक्रम धिमालले खेलको ३७ औं मिनेटमा हेडमार्फत गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा एपीएफका विश्वास उदासले बागमतीका विदेशी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई सदुपयोग गर्दै सागर शाहीले गरेको हेडर गोलमा परिणत भएको थियो । ८३ औं मिनेटमा बागमतीका खेलाडीले डीबक्स क्षेत्रमा ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै एपीएफका रबि थिङले गोल गरे ।

दोस्रो हाफको सुरुवातीमा एपीएफका प्रदीप लामाको प्रहारलाई बागमतीका गोलरक्षक अरुण लामाले मुस्किलले बचाएका थिए । बागमतीका स्टेफन समिरको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । लगत्तै एपीएफको पाएको काउन्टर अट्याक प्रहार गोलमा परिणत हुन सकेन । बल नियन्त्रणमा एपीएफको पकड भएपनि गोल गर्न नसक्दा २–१ को हार व्यहोर्न बाध्य भएको छ ।

खेलमा बागमती यूथ क्लवका विक्रम धिमाल म्यान अफ द म्याच हुँदै नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले खेल राम्रो हुँदाहुँदै पनि खेलाडीको ‘हाइट’ले साथ नदिँदा हार ब्यहोर्नुपरेको प्रतिक्रिया दिए । ‘हाम्रो रणनीति सफल भएन । मुख्य खेलाडीको रुपमा रहेका मिडफिल्डर नै घाइते भए’, उनले भने ।

यता बागमतीका प्रशिक्षक सुनिल श्रेष्ठले पाएको मौका सदुपयोग गर्न नसकेको प्रतिक्रिया दिए । ‘हाम्रो अझै टिम सेट हुन पाएन । आश गरेको खेलाडीबाट राम्रो प्रदर्शन हुन सकेन’, उनले भने, ‘अर्को खेलमा थप सुधारिएको खेल प्रदर्शन हुनेछ ।’

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन भैरहेको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।


Post Comments