News सन्जोग निर्णायक बन्दा अभिषेक चर्च सेमिफाइनलमा
सुरज राना मगर

नयाँबस्ती । सन्जोग महर्जन निर्णायक बन्दा अभिषेक चर्च रजहर यहाँ जारी थिङकिङ मोटर्स दोस्रो भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भरतपुर–२४ नयाँबस्ती स्थित सिद्धार्थ माविको खेलमैदानमा सम्पन्न दोस्रो क्वाटरफाइनलमा अभिषेक चर्चले आरआर एफसी, मकवानपुरलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

खेलमा शुरुवाती अग्रता पनि अभिषेक चर्चले नै लिएको थियो । दोस्रो हाफ शुरु भएको पहिलो मिनट मै बक्स भित्र अफ मार्क रहेका समर श्रेष्ठले हेडद्वारा गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको अन्तिम समय रोमाञ्चक र नाटकीय भइदियो । दोस्रो हाफको ३२औं मिनटमा सुनिल लामाले आरआर एफसीका लागि गोल फर्काउँदा खेल १–१ को रोमाञ्चक मोडमा पुगेको थियो ।

यद्यपि मकवानपुरे टोलीले त्यो बराबरी गोलको खुशी धेरैबेर मनाउन सकेन । गोल खाएको तीन मिनट लगतै अभिषेक चर्चका लागि सन्जोग महर्जनले निर्णायक गोल गर्दै टोलीलाई नाटकीय र रोमाञ्चक जित दिलाए ।

आइतबारको खेलको म्यान अफ द म्याच पनि अभिषेक चर्चका निर्णायक गोलकर्ता सन्जोगग महर्जन नै घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत २ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल टाईगर युवा क्लब, टाईगर चोक र भैरव एफसी, नवलपरासीबीच हुने आयोजकले जनाएको छ ।

खेलकुद विकास समिति, भरतपुर–२४ को आयोजना तथा भरतपुर महानगरपालिका–२४ को सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ हात पार्ने आयोजक क्लबका सह–सचिव रमेश पुरीले जानकारी दिए ।

चितवन, नवलपुर, मकवानपुर, नवलपरासी र रुपन्देहीका गरि कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि चैत ७ गतेका दिन हुने समेत पुरीले बताए ।

Post Comments