News आर्मीलाई मकवानपुर गोल्डकपको उपाधि
बिक्रम बानियाँ क्षेत्री

हैटौडा । साविक विजेता रिगल हेटौडा रिसोर्ट मकवानपुर ११ लाई हराउँदै त्रिभुवन आर्मी फुटबल क्लव स्थानीय तह शहिद स्मृति तेस्रो मकवानपुर गोल्डकपको विजेता बनेको छ ।

शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा आर्मीले घरेलु टोली मकवानपुरमाथि १–० को साँघुरो अन्तरको जित निकाल्दै विजेता बन्न सफल भयो ।

हेटौडा–१० स्थित फरेष्ट्री खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनलमा आर्मीका लागि ३९औं मिनटमा कप्तान टेक बहादुर बुढाथोकीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

मकवानपुरका गोलरक्षक अशोक बराल अघि बढेको मौका छोप्दै उनले प्रहार गरेको बल गोलमा परिणत भएको थियो । घरेलु दर्शकको साथ पाएको मकवानपुरले भने खेलमा खासै अवसर सृजना गर्न सकेन ।

फाइनल खेलको म्यान अफ द म्याच आर्मीका निर्णायक गोलकर्ता टेक बहादुर बुढाथोकी नै घोषित भए । विजेता बनेको आर्मीले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता मकवानपुरले ५ लाखमा चित्त बुझायो ।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथी अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँलगायतले पुरस्कृत गरे ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत फागुन २७ गतेदेखि शुरु प्रतियोगितामा एक विदेशी सहित कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

फुटबलका खेल व्यक्तित्वहरु पनि सम्मानित

प्रतियोगिताको समापनको क्रममा फुटबलको क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तिहरुलाई नगदसहित सम्मान गरिएको थियो । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट माउन्टेन बाइक साइकलसहित फुटबल संघका पूर्व कोषाध्यक्ष निर्मल बल लामालाई सम्मान गरिएको थियो ।

त्यस्तै सहायक फिफा रेफ्री शैलेश जोशी, महिला टिमको पूर्व राष्ट्रिय प्रशिक्षक कुमार कटुवाल, महिला फुटबल टिमको तर्फबाट पहिलो अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी एवम् एन्फा केन्द्रीय सदस्य पेमा लामा, नेपालको पहिलो महिला रेफ्री कल्पना शर्मा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज र पूर्व खेलाडी एवम् प्रशिक्षक भीमबहादुर श्रेष्ठलाई नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

Post Comments