News मकवानपुर गोल्डकपः अमिरलाई बुलेट बाईक
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्दैै घरेलु टोली मकवानुर–११ लाई फाइनलसम्म पुर्याएका अमिर श्रेष्ठ स्थानीय तह शहिद स्मृति तेस्रो मकवानपुर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

भलै फाइनलमा आर्मीसँग १–० ले पराजित हुन पुगे तापनि मकवानपुरका लागि अमिरको प्रदर्शन दर्शनीय नै थियो । र उनी सर्वोत्कृष्ट खेलाडीका हकदार पनि थिए ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिएका अमिरले ५ लाख ५० हजार मुल्य पर्ने रोयल एनफिल्ड बुलेट मोटरसाइकल हात पारे । त्यो पुरस्कार हेटौंडा स्कूल अफ म्यानेजमेण्टका सञ्चालक पुरणबहादुर जोशीले प्रायोजन गरेका थिए ।

निर्णायकको निर्णय, दर्शको मत, अडियन्स पोल र पत्रकारहरुको मतको आधारमा अमिर श्रेष्ठले सर्वोत्कृष्ट बन्दै बाइक पाएका हुन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै बुलेट बाइक जितेका अमिरले घरेलु मैदानमा सम्मानित हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए ।

व्यक्तिगत विधातर्फ आर्मी कै वर्चश्व

मकवानपुरलाई ०–१ ले हराउँदै तेस्रो मकवानपुर गोल्डकपको विजेता बनेको विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले व्यक्तिगत विधातर्फ पनि आफ्नै वर्चश्य जमायो ।

फाइनल खेलको म्यान अफ द म्याच कप्तान तथा निर्णायक गोलकर्ता टेक बहादुर बुढाथोकी घोषित हुँदै ट्रफीका साथ १० हजार हात पारे ।

उत्कृष्ट गोलरक्षक पनि आर्मीका विवश चौधरी घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि आर्मी कै दिपक गुरुङ घोषित भए । त्यस्तै उत्कृष्ट मिडफिल्डर र प्रशिक्षकको पुरस्कार पनि क्रमशः आर्मी कै सेसेहाङ आङदेम्बे र नविन न्यौपाने चुनिए ।

उत्कृष्ट फरवार्ड भने आयोजक मकवानपुर–११ का रन्जन बिष्ट घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी हात पारे ।

विजेता बनेको आर्मीले उपाधिसहित नगद १० लाख हात पारेको थियो भने उपविजेता मकवानपुरले ५ लाख प्राप्त गरेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा गत फागुन २७ गतेदेखि शुरु प्रतियोगितामा एक विदेशी टोलीसहित कुल १० टिमहरुले सहभागिता जनाएका थिए ।

Post Comments