News एपिएफ चन्द्रागिरी गोल्डकपको नयाँ च्याम्पियन
गोलनेपाल

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबार सम्पन्न तेस्रो चन्द्रागिरी मेयर गोल्डकप ए डिभिजन नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । स्मरण रहोस, यसअघिका पछिल्ला दुई संस्करण क्रमशः हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबले जितेको थियो ।

नैकाप खेलमैदानमा भएको फाइनल भिडन्तमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी शुटआउटमा ५–४ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलको सातौं मिनटमै प्रविन स्याङतनको गोलबाट शुरुवाती अग्रता बनाएको एपिएफले त्यो अग्रतालाई जोगाउन सकेन । उता पुलिसका लागि निर कुमार राईले ४२औं मिनटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

विजेता बनेको एपिएफले उपाधिसहित नगद ६ लाख ५० हजार हात पार्यो भने उपविजेता पुलिसले ३ लाख ५० हजारमा चित्त बुझायो । दिपशिखा युवा समूह चन्द्रागिरी नगरपालिका–१३, पुरानो नैकापको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल १२ टोलीहरुको सहभागिता रहेको थियो ।

Post Comments
Advertisement Yamaha Nepal