News दोस्रो बराबरी खेल्दै नेपाल फाइनलमा
गोलनेपाल

काठमाडौं । लगातार दोस्रो बराबरी खेल्दै आयोजक नेपाल जारी थ्री नेशन्स कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल उपाधि नजिक पुगेको हो ।

फाइनलमा उपाधिका लागि नेपाल र बंगलादेश नै भिड्ने पनि पक्का भएको छ । स्मरण रहोस, उदघाटन खेलमा बंगलादेशले किर्गिस्तान यु–२३ लाई १–० ले हराएको थियो । त्यसपछि बिहीबार मात्र नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश अन्तिम खेल खेल्नु अघि नै फाइनलमा पुगेको थियो ।

शनिबारको खेलमा नेपाललाई फाइनलमा प्रवेश गर्न जित्नैपर्ने वा बराबरी गर्नुपर्ने दबाब पनि थियो । आफू अनुकुल नतिजा ननिस्किए नेपाल प्रतियोगिताबाटै बाहिरिने सम्भावना पनि कायम थियो । शनिबारको यो नतिजासँगै किर्गिस्तान यु–२३ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबारको खेलको म्यान अफ द म्याच नेपालका स्टार मिडफिल्डर रोहित चन्द घोषित भए । उनले त्यसवापत २५० अमेरिकी डलर र ट्रफी हात पारे । फाइनल खेल चैत्र १५ गते सोमबारका दिन नेपाल र बंगलादेशबीच दशरथ रंगशाला मै हुनेछ ।

Post Comments