News नयाँ खेलतालिकाबारे माल्दिभ्स सहित तीन देशको असन्तुष्टी
गोलनेपाल

दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलतर्फ खेलतालिका परिवर्तन गरिएकोमा माल्दिभ्स, भुटान, श्रीलंकाका प्रशिक्षकहरुले असन्तुष्टी पोखेका छन् ।

माल्दिभ्सका प्रशिक्षक पिटर सेज भन्छन्, “आयोजकले फिफाको नियम उल्लंघन गरेको छ । हामी २४ घण्टाको अन्तरालमा खेल्न सक्दैनौं । हामी खेल हुनु अघि एसोसिएशनसँग यसबारे कुरा गर्नेछौं ।”

भारतले अन्तिम समयमा आएर फुटबलमा सहभागिता नजाउने भएपछि प्रतियोगिताको खेलतालिका परिवर्तन गरिएको थियो । यद्यपि ती देशका प्रशिक्षकहरुले भारतले सहभागिता नजनाए पनि खेलतालिका परिवर्तन गर्न नहुने उनीहरुको तर्क थियो । बरु सोही समूहमा रहेका अन्य टोलीहरुलाई समान ३–३ अंक दिनुपर्ने उनीहरुको भनाई थियो ।

यसअघि सहभागि ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । तर भारतले सहभागिता नजाउने भएपछि नयाँ खेलतालिकामा सहभागि ५ टोलीहरुले राउण्ड रोबिन लिगका आधारमा खेल्नुपर्ने भएको थियो

पुरुष फुटबलतर्फ प्रतियोगिताको पहिलो खेलमा सोमबार बंगलादेशले भुटानको सामना गर्नेछ भने माल्दिभ्सले श्रीलंकासँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल भने मंगलबार भुटानसँग खेल्दै सागमा पुरुष फुटबलको शुरुवात गर्नेछ ।

पुरुष फुटबलतर्फ लिग चरणको खेलपश्चात् शिर्ष स्थानमा रहने दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । स्मरण रहोस, यसअघि १२औं सागमा नेपालले फाइनलमा आयोजक भारतलाई हराउँदै पुरुष फुटबलमा ऐतिहासिक स्वर्ण जितेको थियो ।

 

Post Comments