News चर्च ब्वाईज च्याम्पियन, तीन क्लब बी डिभिजनमा बढुवा
गोलनेपाल

काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगको सुपर सिक्स खेलहरुको समापन पश्चात शिर्ष स्थानमा रहेर चर्च ब्वाईज युनाइटेड च्याम्पियन बनेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न अन्तिम खेलमा चर्च ब्वाईजले झापा एफसीलाई २–१ ले हरायो । चर्च ब्वाईजका लागि रिजन माझीले २०औं मिनटमा पहिलो गोल गरेका थिए । २७औं मिनटमा सोम थापाले चर्च ब्वाईजको अग्रता दोब्बर पारे जुन निर्णायक गोल पनि बन्यो ।

उता पराजित झापाका लागि पहिलो हाफ कै इन्जुरी समयमा श्याम मुर्मुले एक गोल फर्काए तापनि झापाली टोलीको हार टार्न त्यो गोल प्रर्याप्त बनेन । चर्च ब्वाईज युनाइटेड विरुद्धको खेल झापाका लागि निकै महत्वपुर्ण पनि थियो । झापाले खेल जितेको भए टोली बी डिभिजनमा बढुवा पनि हुने थियो । तर दुर्भाग्यपुर्ण रुपमा हार्न पुग्यो ।

बिरगंज र सामाजिक युवा क्लब पनि बढुवा

त्यस्तै बिरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि लिगमा क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्दै बी डिभिजनमा बढुवा भएका छन् । बिरगंज युनाइटेडले आफ्नो अन्तिम खेलमा पिनाकल खालीबारी युथ क्लबलाई ३–१ ले हरायो । त्यस्तै अर्को खेलमा सामाजिक युवा क्लबले बिरगंज युथ एकेडेमीलाई १–० ले पराजित गर्यो ।

चर्च ब्वाईजलाई १० लाख

सी डिभिजन लिग च्याम्पियन बनेको चर्च ब्वाईज युनाइटेडले उपाधिसहित १० लाख हात पार्यो । त्यस्तै दोस्रो स्थानको बिरगंज युनाइटेड क्लबले ७ लाख हात पा–यो भने तेस्रो स्थानको सामाजिक युथ क्लबले ४ लाख प्राप्त गर्यो ।

त्यसैगरी व्यक्तिगत विधातर्फ बिरगंजका दिलमणी चौधरी उत्कृष्ट गोलरक्षक चुनिए । चर्च ब्वाईजका सनम राई उत्कृष्ट डिफेन्डर बने भने चर्च ब्वाईज कै सलमान लिम्बु उत्कृष्ट मिडफिल्डर घोषित भए । त्यस्तै बिरगंज युनाइटेडका बिबेक चौधरी उत्कृष्ट फरवार्ड चुनिंदा सामाजिक युथका सन्दिप खड्का उत्कृष्ट प्रशिक्षक बने ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले जनही २५–२५ हजार हात पारे । त्यस्तै लिगको फेयर प्ले अवार्ड झापा एफसीले जित्यो । त्यसवापत झापाले ५० हजार नगद हात पार्यो ।

(तस्विर स्रोतः एन्फा)

Post Comments