News सनसनीपूर्ण जितका साथ एपिएफ फाइनलमा
गोलनेपाल

बिराटनगर । सनसनीपुर्ण जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब जारी छैंटौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार शहिद रंगशालामा भएको पहिलो सेमिफाइनलमा एपिएफले घरेलु टोली बिराटनगर–११ को चुनौति ३–२ ले समाप्त पार्दै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा भने एपिएफले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलको २७औं मिनटमा सनिष श्रेष्ठको गोलबाट अग्रता लिएको एपिएफले त्यसलाई पहिलो हाफसम्म मात्र जोगाउन सक्यो । दोस्रो हाफको ५३औं मिनटमा स्टेफन समिरले बिराटनगरका लागि बराबरी गोल फर्काए । तर ६६औं मिनटमा रबि थिंगले एपिएफलाई दोस्रोपटक खेलमा अग्र्रता दिलाए ।

यद्यपि एपिएफले त्यो अग्रता पनि धेरैबेर जोगाउन सकेन । गोल खाएको तीन मिनट लगतै बिराटनगरका लागि प्रकाश बुढाथोकीले दोस्रो बराबरी गोल फर्काए । त्यसपछिको निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलियो । अतिरिक्त समयको ११६औं मिनटमा मणि लामाले एपिएफका लागि निर्णायक गोल गर्दै विभागीय टोलीलाई फाइनलमा पु–याए ।

खेलको म्यान अफ द म्याच एपिएफका निर्णायक गोलकर्ता मणि लामा नै घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत बैशाख २ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल संकटा क्लब र पञ्जाब पुलिस, भारतबीच हुने आयोजकले जनाएको छ ।

बिराट गोल्डकप फुटबल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले ७ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल भने यहि बैशाख ४ गतेका दिन हुनेछ ।

Post Comments