News जनता सेभेन बन्यो सन्दकपुर गोल्डकप च्याम्पियन
रमेश समदर्शी

देउराली (इलाम) । देउमाइ नगरपालिकालाई स्तब्ध पार्दै सूर्योदय नगरपालिकाको जनता सेभेन प्रथम सन्दकपुर गोल्डकपको च्याम्पियन बनेको छ ।

सन्दकपुर गाउँपालिकाको देउराली बजारस्थित सातखाल्डे सहिद खेलमैदानमा बुधबार फाइनल खेलमा जनता सेभेनले टाइब्रेकरमा ४–३ गोलअन्तरले देउमाइ नगरपालिकालाई पराजित गर्दै उपाधि सुरक्षित गरेको हो ।

निर्धारित खेल १–१ गोलको बराबरीमा टुंगिएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । जनता सेभेनका लागि बबिन बोहोराले पहिलो हाफमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा देउमाइका मुकेश मगरले गोल गर्दै बराबरी गरेका थिए ।

दोस्रो हाफ सकिन १० मिनेट बाँकी रहँदा जनता सेभेनका गोलरक्षक डेभिड राई रेड कार्ड पाउँदै मैदान बाहिरिँदा ८ खेलाडीमा सीमित भएको थियो । उनको स्थानमा फरवार्ड शेरुहाङ लिम्बूले उत्कृष्ट प्रदर्शन गरे ।

टाइब्रेकरमा देउरालीका खेलाडीको २ वटा प्रहारलाई शेरुहाङले रोकेका थिए । देउरालीका सञ्जय लिम्बू, युवराज राई र विशाल लामाको प्रहारमात्र गोलमा परिणत भयो भने कप्तान रोहित राई र बालकृष्ण राईको प्रहार शेरुहाङले रोकेका हुन् ।

ज्नता सेभेनका सुरज थामी, सौगात गोम्देन, रोशन मगर र बबिन बोहोराको प्रहार गोलमा परिणत भयो । बबिन फाइनल खेलको म्यान अफ दी म्याच घोषितहुँदै नगद २ हजार पाउन सफल भए ।

त्यस्तै, जनता सेभेनका अमित राई बेस्ट डिफेन्स र शेरुहाङ लिम्बू हाइ स्कोरर हुँदा देउमाइका रोहन कार्की बेस्ट प्लेयर भए । उनीहरुले जनही ३–३ हजार नगद पाए ।

देउराली स्पोर्टिङ क्लबको आयोजना तथा सन्दकपुर गाउँपालिकाको विशेष पहलमा आयोजित गोल्डकपको विजेताले नगद १ लाख १ हजार १११ र उपविजेताले ५० हजार ५५५ रुपैयाँ र ट्रफी पाएको छ ।

Post Comments