News इटहरी भेट्रान अन्तिम चारमा
रमेश समदर्शी

सुरुङ्गा । हाम्रो इटहरी भेट्रान क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार कनकाई माविको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनलमा बिर्तामोड भेट्रान क्लबलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटहरीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा इटहरीका डेनिम राईले खेलको १५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २८औँ मिनेटमा जोनी मोक्तानले इटहरीको अग्रता दोब्बर पारे । यद्यपि बिर्तामोडका दिपक राईले २६औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएका थिए ।

तर, ३४औँ मिनेटमा डेनिम राईले व्यक्तिगत दोस्रो गोल गर्दै इटहरीलाई ३–१ को स्थितिमा पु–याए । यसैबीच, दोस्रो हाफको पाँचौं मिनेटमा दिपक राईले बिर्तामोडका लागि दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

खेलमा राम्रो प्रभाव जमाएको इटहरीका लागि खेलको ७२औँ मिनेटमा कुमार राईले गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरेका थिए । खेलको म्यान अफ द म्याच इटहरीका डेनिम राई घोषित भए ।

उनलाई दुर्गा प्रसाईको तर्फबाट आयोजक कनकाई भेट्रान क्लबका अध्यक्ष दिनानाथ खतिवडाले नगद २ हजार सहित पुरस्कृत गरे । डेनिमलाई नै पहिलो गोलकर्ताको रुपमामा स्थानीय फुटबलप्रेमी लय उप्रेतीले नगद १ हजार पुरस्कार पनि दिएका थिए ।

प्रतियोगिता अन्तरगत सोमबारको खेल धरान भेट्रान क्लब र विराट बुद्ध भेट्रान क्लब विराटनगरबीच हुने आयोजकले जनाएको छ । कनकाई भेट्रान क्लबको आयोजनामा जारी प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ ।

Post Comments