News भोजपुर गोल्डकप शुरु, भगवतीको विजयी शुरुवात
गोलनेपाल

भोजपुर । भोजपुर जिल्लाको भोजपुर नगरपालिका वडा नम्बर ७ टुँडिखेलमा आइतबारदेखि शुरु चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगितामा भगवती स्पोटस क्लब, खोटाङले विजयी शुरुवात गरेको छ ।

आइतबार भएको उद्घाटन खेलमा भगवतीले धरान फुटबल क्लब सुनसरीलाई ट्राईब्रेकरमा ३–० ले हराउदै विजयी शुरुवात गरेको हो । यो जितसँगै भगवती प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । पहिलो हाफको २१औँ मिनेटमा तपन कार्कीको गोलबाट धरानले खेलमा अग्रता लिएको थियो । यद्यपि भगवतीका लागि शरद राईले गोल फर्काउँदै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

ट्राईबेरकरमा भगवतीको तर्फबाट दिपेस धिमाल, समिल राई र सन्जोक राईले गोल गरेका थिए । उता धरानका लागि तपन कार्की, बिनोद राई र मिलन लिम्बुले गरेको प्रहार गोलमा परिणत हुन नसक्दा भगवती विजयी बन्न पुगेको थियो ।

आइतबारको खेलको म्यान अफ द म्याच । भगवतीका गोलरक्षक रेम्बो चौधरी घोषित भए । उनले पुरस्कार वापत नगद ३५ सय र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत सोमबारको खेल सगरमाथा युथ क्लब, मोरङ र घरेलु टोली भाजपुर फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना र भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने यहि बैशाख ११ गतेका दिन हुनेछ ।

Post Comments