News आयोजकलाई कनकाई भेट्रान्स कपको उपाधि
रमेश समदर्शी

पाहुना टोली हाम्रो इटहरी भेट्रान्स क्लबलाई ३–० गोल अन्तरले हराउँदै आयोजक कनकाई भेट्रान्स क्लबले झापाको सुरुङ्गामा सम्पन्न कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

जितसँगै कनकाईले नगद १ लाख १ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता हाम्रो इटहरीले ६१ हजार रुपैयाँमा चित्त बुझायो ।

शनिबार कनकाई माविको खेल मैदानमा भएको फाइनल खेलमा कनकाईले हाम्रो इटहरीलाई सुरुवातदेखि नै दबाबमा राखेको थियो । हाम्रो इटहरीले केही मुभ बनाए पनि गोल गर्न भने सकेन ।

खेलको १३औँ मिनेटमा कनकाईका रमेश गुरुङले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । इटहरीको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै सन्तोष बस्नेतले उपलब्ध गराएको क्रसलाई रमेशले गोलको दिशा दिएका थिए ।

त्यस्तै, रमेशको पासमा सन्तोषले टिमका लागि २४औँ मिनेटमा दोस्रो गोल गरेका थिए । ४४औँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे ।

गोलपोस्टको दायाँ बार च्यापेर सन्तोषले गरेको प्रहार गोलरक्षको हातबाट फुस्किएर गोलमा परिणत भएको थियो । १६ र २०औँ मिनेटमा नरेन्द्रमणि लिम्बूको दुई वटा हेडर इटहरीका गोलरक्षक देव कान्तले बचाएका थिए ।

फइनल खेलको म्यान अफ द म्याच आयोजक कनकाईका सन्तोष बस्नेत भए । उनलाई ढुवानी व्यवसायी महासंघका केन्द्रीय सदस्य तथा युवा व्यवसायी श्याम प्रसाईंले नगद दुई हजार रुपैयाँ प्रदान गरे ।

प्रतियोगिताभरिको उत्कृष्ट गोलरक्षक कनकाईका सञ्जय ठाकुर भए । उनले नगद दुई हजार पाए । उत्कृष्ट खेलाडी रमेश गुरुङ घोषित भए । उनले नगद पाँच हजार पाए ।

विजेता तथा उपविजेता टोलीलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईंलगायतले पुरस्कार वितरण गरेका थिए । कनकाई भेट्रान्स क्लबको आयोजनामा कनकाई माविको खेल मैदानमा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी थिए ।

Post Comments