News जितको लयमा फर्कियो धनगढी
गोलनेपाल

काठमाडौं । खुकुरी नेपाल सुपर लिगतर्फ आफ्नो पहिलो खेलमा नराम्ररी पराजित हुन पुगेको धनगढी एफसीले मंगलबार जितको लय समातेको छ । सुपर लिगमा मंगलबार आफ्नो दोस्रो म्याच खेलेको धनगढीले काठमाडौं रेजर्समाथि ३–० को जित निकाल्यो ।

स्मरण रहोस, धनगढीले आफ्नो पहिलो खेलमा बिराटनगर सिटी एफसीसँग समान ३–० कै हार बेहोरेको थियो । दशरथ रंगशालामा मंगलबार भएको खेलमा धनगढीका लागि ओलावाले आफिजको नाममा दुई गोल रह्यो । यद्यपि धनगढीका लागि गोलको खाता भने १९औं मिनटमा टंक बस्नेतले खोलेका थिए ।

लगतै २३औं मिनटमा ओलावालेले दोस्रो गोल थपे भने ओलावालेले नै पहिलो हाफ कै इन्जुरी समयमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै धनगढीको प्रभावशाली जित पक्का गरे । खेलमा धनगढी कै ओलावाले सुपर प्लेयर अफ द म्याच घोषित भए । त्यसवापत उनले ट्रफी र २५ हजार हात पारे ।

खेलको ६८औं मिनटमा धनगढीका रमेश दंगलले दोहारो पहेंलो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा समेत खुम्चिएको थियो । तर पनि धनगढीको त्यो प्रभावशाली जितलाई त्यो रातो कार्डले भने रोक्न सकेन ।

सुपर लिगअन्तरगत बुधबार दुई खेलहरु हुने छन् । पहिलो खेलमा दिनको २ः३० बजेदेखि एफसी चितवन र बुटवल लुम्बिनी एफसी भिड्नेछ भने दोस्रो खेलमा ५ः३० बजेदेखि बिराटनगर सिटी एफसी र पोखरा थन्डर्स भिड्ने आयोजकले जनाएको छ ।

 

Post Comments