News अल्मुताईरीले माफी माग्दै भने “नेपाली फुटबललाई मेरो विशेष सम्मान”
गोलनेपाल

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुला अल्मुताईरीले हालै एक अनलाईन मिडियालाई दिएको अन्तरवार्तालाई लिएर माफी मागेका छन् । सो अन्तरवार्तामा बोल्दै प्रशिक्षक अब्दुलाले एन्फा पदाधिकारीहरुले फुटबल विकासका लागि आफ्नो मानसिकता परिवर्तन गर्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

उनको यो प्रतिक्रिया सँगै उनी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको विवाद उत्कर्षमा पुग्यो। नेम्वाङकै कारण एन्फामा काम गर्न नसक्ने भन्दै आफूले एन्फामा राजिनामा दिन गईरहेको स्टाटस फेसबुकमा हालेपछि त्यसले एन्फा र नेपाली फुटबलमा तरंग पैदा गरेको थियो ।

यो बिबादको लागि एन्फाले कार्यसमितिको आकस्मिक बैठक समेत बोलाउनु परेको थियो ।

सामाजिक सञ्जालमा आफूलाई सक्रिय राख्ने अल्मुताईरीले सोमबार फेसबुक मै अर्को स्टाटस लेख्दै सम्बन्धित सबैसँग माफी मागेका छन् । उनले आफ्नो अभिव्यक्तिमा कसैलाई ठेस पुर्याउने उद्देश्य नरहेको बताएका छन् ।

साथै उनले आफूले दिएको अन्तरवार्तामा पछिल्लो तीन दशकदेखि नेपाली फुटबल र अन्य एसियाली राष्ट्रहरुको फुटबल विकासको गतिविधी कहाँ र कसरी भईरहेकोबारे चर्चा गर्ने अभिप्राय मात्र रहेको बताएका छन् ।

आफ्नो अभिव्यक्ति र प्रतिक्रियाले नचाहँदा नचाहँदै पनि नेपाली फुटबल र नेपाली फुटबल समर्थकहरुबीच असहज परिस्थति सिर्जना गरेको भन्दै उनले सबैसँग माफी मागेका हुन् ।

अब्दुलाका अनुसार उनको अभिव्यक्तिले खासगरी पूर्व खेलाडी, प्रशिक्षक तथा सम्बन्धित कसैलाई नकरात्मक असर र असमझदारी सिर्जना भएको भन्दै सबैसँग माफी मागेका छन् ।

अब्दुल्लाले आफ्नो स्टाटसमा कसैप्रति पनि खराब नियत नराखेको स्पष्ट पार्दै उनले नेपाल र नेपाली फुटबलप्रति सधै आफ्नो विशेष सम्मान रहेको समेत बताएका छन् ।

Post Comments