News फेरि शिर्ष स्थानमा उक्लियो जावलाखेल, संकटा पनि सफल
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार साँघुरो जितका साथ जावलाखेल युथ क्लब फेरि लिगतालिकाको शिर्ष स्थानमा उक्लेको छ । दशरथ रंगशालामा भएको दिनको अन्तिम खेलमा जावलाखेलले हिमालयन शेर्पा क्लबमाथि १–० को जित निकाल्यो ।

पहिलो हाफको २२औं मिनटमा शेर्पाका डिफेन्डर अमृत श्रेष्ठले गरेको आत्मघाती गोल नै जावलाखेललाई तीन अंक दिलाउन निर्णायक बन्यो । यो जितपछि १६ खेलबाट २७ अंक जोडेको जावलाखेल शिर्ष स्थानमा उक्लेको छ । समान अंक भए तापनि गोल भिन्नताले पछि परेको चर्च ब्वाईज दोस्रो स्थानमा छ । यद्यवि चर्च ब्वाईजले एक खेल कम खेलेको छ । उता जावलाखेलसँग पराजित शेर्पा भने २० अंकका साथ आठौं स्थानमा छ ।

त्यस्तै च्यासल स्टेडियममा भएको खेलमा संकटाले सातदोबाटो युथ क्लबमाथि २–० को जित निकाल्यो । संकटाका लागि दुवै गोल युसेफ एट्रिसले गरे । १४औं मिनटमा एट्रिसले पेनाल्टी गोलबाट संकटाको खाता खोलेका थिए । २६औं मिनटमा उनले नै दोस्रो गोल थप्दै संकटाको जित सुनिश्चित गरेका थिए ।

यो जितपछि २० अंक जोडेको संकटा लिगतालिकाको नवौं स्थानमा उक्लेको छ । पराजित सातदोबाटो भने २३ अंकका साथ पाँचौं स्थानमा झरेको छ ।

त्यसैगरी दशरथ रंगशालामा भएको थ्रीस्टार क्लब र एनआरटीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । यो बराबरी नतिजापछि थ्रीस्टारले शिर्षताको होडमा आफ्नो दावेदारीता पेश गर्ने अवसर गुमाएको छ । र २५ अंकका साथ तेस्रो स्थानमा छ । एनआरटी भने १८ अंकका साथ १२औं स्थान मै छ । र रेलिगेशन क्षेत्रको टोली खुमलटारभन्दा एक अंकले मात्र अगाडी छ ।

Post Comments