News मच्छिन्द्रले पनि एकेडेमी सञ्चालन गर्ने
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबले पनि आफ्नो फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । मच्छिन्द्रले पिस प्वाईन्ट इङलिस बोर्डिङ स्कुलसँग मिलेर युथ फुटबल एकेडेमी सञ्चालन गर्ने पक्का भएको हो ।

आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमकाबीच मच्छिन्द्र क्लब र पिस प्वाईन्टबीच ६ बर्षका लागि एकेडेमी सञ्चालन गर्ने सहमति भएको हो । सो अवसरमा क्लबको तर्फबाट अध्यक्ष सुनिल कपाली र पिस प्वाईन्ट स्कुलको तर्फबाट प्रिन्सिपल इशु गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार पहिलो बर्षका लागि ७ खेलाडी क्लबबाट तथा सात खेलाडीहरु स्कुलबाट गरि कुल १४ खेलाडीहरु एकेडेमीमा आवद्ध हुनेछन । त्यस्तै दोस्रो बर्षका लागि मच्छिन्द्रले थप ७ खेलाडी आवद्ध गरेर एकेडेमीमा कुल २१ खेलाडीहरु पुर्याउने एन्फाले जनाएको छ ।

एकेडेमीमा आवद्ध भएका खेलाडीहरुले मच्छिन्द्रसँगै फुटबल अभ्यास गर्नेछन् भने अध्ययनलाई पिस प्वाईन्ट स्कुल मै निरन्तरता दिने बताइएको छ । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह लगायत अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

योसँगै एकेडेमी सञ्चालन गर्ने मच्छिन्द्र पाँचौं क्लब समेत बनेको छ । यसअघि संकटा क्लब, सातदोबाटो युथ क्लब, न्युरोडटिम (एनआरटी) र मनाङ मस्र्याङ्दी क्लबले पनि एकेडेमी सञ्चालन गर्ने तय भइसकेको छ । त्यस्तै तीन विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ क्लब र नेपाल पुलिस क्लबले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने यसअघि नै सम्झौता गरिसकेका छन् ।

स्मरण रहोस, गत सिजन मच्छिन्द्रले लिग उपाधि जितेर पनि प्रतिष्ठित एएफसी कप खेल्ने अवसरबाट बञ्चित हुन परेको थियो । लिगविजेताको हैसियतले मच्छिन्द्रले एएफसीले तोकेको प्रक्रिया पूरा नगरेकै कारण क्लबले एएफसी कप खेल्नबाट बञ्चित भएको थियो । त्यतिबेला दोस्रो स्थान हासिल गरेको आर्मीले एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको थियो ।

 

Post Comments