News जर्मन लिजेण्ड मुलरको निधन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । बायर्न म्युनिख तथा जर्मन लिजेण्ड गर्ड मुलरको ७५ बर्षको उमेरमा आइतबार निधन भएको छ । उनको निधनबारे विभिन्न सञ्चारमाध्यमहरुले पुष्टी गर्नुका साथै दुःख समेत व्यक्त गरेका छन् ।

आधुनिक फुटबलमा उत्कृष्ट फरवार्डमध्ये एकमा गनिएका मुलरले पश्चिम जर्मनीका लागि खेल्दै ६२ खेलमा ६८ गोल गरेका थिए । त्यसमा सन् १९७४ को फिफा विश्वकपको फाइनलमा जर्मनीका लागि उनले गरेको निर्णायक गोल पनि सामेल छ । उनको त्यो गोलको सहयोगमा जर्मनीले नेदरल्याण्डसलाई २–१ ले हराउँदै दोस्रोपटक विश्वकपको उपाधि जित्न सफल भएको थियो ।

आफ्नो व्यवसायीक खेल जीवनमा १५ बर्ष बायर्न म्युनिखमा बिताएका मुलरले त्यतिबेला जर्मन जायन्टका लागि ५८४ खेलमा ५४७ गोल समेत गरेका थिए । त्यसमध्ये बुण्डेसलिगामा मात्र उनले किर्तिमानी ४२७ म्याचमा ३६५ गोल गरेका थिए ।

सन् १९७० मा प्रतिष्ठित बेलन डि’अर अवार्ड समेत हात पारेका मुलरले त्यसको दुई बर्षपछि पश्चिम जर्मनी कै लागि युइएफए युरोपियन च्याम्पियनसिप समेत जितेका थिए । मुलरले युरोपियन च्याम्पियन बनेको दुई बर्षपछि घरमै सम्पन्न फिफा विश्वकप पनि जितेका थिए ।

उनको निधनप्रति बायर्न म्युनिख र जर्मनीमा मात्र नभएर विश्वभरि कै फुटबल जगतले दुःख व्यक्त गरिरहेका छन् ।

Post Comments