News बुद्धभूमि एकेडेमीलाई न्यु पुर्णकला ज्वेलर्सको प्रायोजन
सुरज राना मगर

बुटवल । काठमाडौंमा जारी शहिद स्मारक सी डिभिजन लिग छनौट खेल्ने रुपन्देहीको एक्लो टोली बुद्धभूमि फुटबल एकेडेमीले न्यु पुर्णकला सेन्चुरी ज्वलेलर्सलाई जर्सी प्रायोजकका रुपमा पाएको छ ।

सैनामैना नगरपालिका–८ बाँसगढीमा रहेको ज्वलेर्स र फुटबल एकेडेमीबीच एक बर्षका लागि जर्सी प्रायोजन सम्झौता भएको एकेडेमीका अध्यक्ष मुकेश थापाले बताए । स्थानीयस्तर मै एकेडेमीलाई सहयोग गर्न अघि सरेको ज्वेलर्सप्रति अध्यक्ष थापाले धन्यवाद र आभार समेत प्रकट गरे ।

उता जर्सी प्रयोजनपछि ज्वलेर्सका प्रोपराईटर सन्तोष सेन्चुरीले पनि खुशी व्यक्त गरे । खेलकुदमा विशेष गरि फुटबलप्रति आफू पनि आकर्षित रहेको बताउँदै सेन्चुरीले आफ्नै गाउँठाउँको फुटबललाई सहयोग गर्न पाउँदा उत्साहित रहेको बताए । सेन्चुरी भन्छन्, “जिल्ला कै फुटबल प्रतिष्ठासँग जोडिएकोले आफ्नो तर्फबाट केही सहयोग गरेको छु । यो सहयोगलाई आगामी दिनहरुमा पनि निरन्तरता दिन सक्दो कोशिष गर्नेछु ।”

सो अवसरमा एकेडेमीका निर्देशक तथा टिम व्यवस्थापक बिष्णु प्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो । फुटबललाई व्यवसायीकतातर्फ लैजान यो एउटा सानो प्रयास रहेको र यसले आगामी दिहरुमा पनि निरन्तरता पाउने आफूले विश्वास लिएको पौडेलले बताए ।

स्मरण रहोस, पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङको प्रशिक्षकीय जिम्मेवारीमा रहेको बुद्धभूमिले सी डिभिजन लिग छनौटतर्फ सानो गौचरन युवा क्लब र चिवाहाल युवा क्लबसँग खेल्ने तय भइसकेको छ ।

प्रतियोगितामा कुल ७८ टोलीहरुले सहभागिता जनाईरहेका छन् । छनौट प्रतियोगिताबाट तीन टोलीहरु सी डिभिजनका लागि छनौट हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

Post Comments