न्युज भारत र नेपालको फुटबल स्तरमा पछिल्लो समय किन यति धेरै अन्तर देखा पर्यो ?
केशर बहादुर दाहाल
घरेलु मैदानमा भएको सन् २०१३ को साफ च्यम्पियनसिपको समूह चरणको खेलमा नेपालले भारत विरुद्ध २-१ को उत्कृष्ट जीत निकालेको थियो ।  जितको ८ वर्ष पूरा भएको छ तर अझै त्यो जीत हामी नेपालीको मन, मस्तिष्कमा ताजै छ किनभने हामी भारत विरुद्ध कुनै पनि हालतमा जित्न चाहन्छौ । विभिन्न राजनीतिक कारण होस् या त सीमा क्षेत्रकै विवादका कारण होस्, भारत विरुद्ध जित्दा हामी नेपाली अझै बढी खुसीको अनुभूति गर्छौ । 
 
फेरि अब त्यही मैदानमा नेपालले भारत विरुद्ध सेप्टेम्बर २ र ५ मा दुई खेल खेल्दैछ । तर नेपाललाई यो पटक जीत निकाल्न पक्कै पनि सजिलो हुने छैन । यो पाली भारतको उकालिँदै गरेको फुटबल यात्रालाई चुनौती दिँदै जीत हासिल गर्न नेपाल लागिपर्ने छ भने भारत पनि आफ्नो खेलको उत्कृष्ट स्वरूप पस्किने लक्ष्यमा छ ।
 
नेपाल र भारतको खेललाई सामान्य खेलको रूपमा लिइँदैन । हाम्रा लागि त यो खेल ' एल क्लासिको ' सरह हो । यहाँ प्रतिष्ठाको लड़ाई हुनेछ । दुवै टोली जित्न चाहन्छन् । खेल त मैत्रिपूर्ण मात्र हो तर यो खेल हामी सबैका लागि चासोको विषय भन्ने छ । छिमेकी देश भएर नी हुन सक्छ, को बढी उत्कृष्ट भन्ने प्रतिस्पर्धा अलि बढी नै हुने गर्दछ नेपाल र भारतको ।
 
कहिले नाकाबन्दी त कहिले सीमा अतिक्रमण त कहिले राजनीतिक हस्तक्षेपबाट नेपाली जनताले भारतबाट पीडा खप्दै आएका छन् । यही कारणले हुन सक्छ नेपाली समर्थकले अन्य मुलुकको तुलनामा भारत विरुद्धको खेललाई विशेष रूपमा लिने गर्दछन् ।  यसैकारण, यो खेललाई एउटा खेलकै कोणबाट मात्र हेरिँदैन ।
 
सन् २०१३ र अहिलेको स्थिति फरक रहेको छ । त्यो बेलामा भारत र नेपालको फिफा वरियतामा खासै अन्तर थिएन । भारत पहिलैबाट नेपाल भन्दा केही बलियो भएतापनि नेपाल र भारतको स्तर लगभग उस्तै नै थियो ।  तर अहिले भारतले निकै फड्को मारेको छ । अहिले भारत फिफा वरियतामा नेपालभन्दा ६३ स्थान माथि रहेको छ ।
 
कुनै पनि देशको फूटबलको स्तर त्यस देशको घरेलु लिगको गुणस्तरमा भर पर्छ । भारतको घरेलु लिगको आकार र स्तर सुधारिएको छ । त्यहाँको लिगमा स्थिरता छ । भारतमा हुने इन्डियन सुपर लिग, आई लिग जस्ता लिगहरु जसलाई फिफा र एफसीले मान्यता दिएका छन् । इन्डियन सुपर लिग जित्ने क्लवले एएफसी च्याम्पियन्स लिग खेल्ने मौका पाउने छन् जसका कारण अझै खेलाडीलाई अनुभव  बटुल्ने अवसर हुनेछ ।
 
विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरू भारतीय लिगमा खेलिरहेका छन् । युरोपियन खेलाडीहरू र विश्वका उत्कृष्ट खेलाडीहरू भारतीय लिग तर्फ आकर्षित भइरहेका छन् । प्रशिक्षकहरु गुणस्तरीय छन् । लिगमा लगानीकर्ताको कमी छैन, क्लबहरुले पनि सक्दो खर्च गर्ने क्षमता छ । खेलमैदानको अभाव छैन । लिगको शैली विश्वका उत्कृष्ट लिग सरह  छ र त्यस्तै उत्कृष्ट लिगमा हुनु पर्ने गुण र मापदण्ड पुराएर खेलहरु हुँदै आएका छन् । यसकारण नेपालको भन्दा भारतको सुधारिदो खेल र बढिरहेको स्तर देख्दा अचम्म मानिरहनु पर्दैन ।
 
नेपालको सन्दर्भ भने बिल्कुल फरक छ । नेपालको लिग स्थिर छैन । कहिले हुन्छ, कहिले हुँदैन । कहिले १ महिनाको लिग हुन्छ त कहिले ३ महिनाको । कहिले लिगको ढाँचा  नै परिवर्तन हुन्छ त कहिले लिगको नियम नै फेरिन्छ । क्लवले खर्च धान्ने स्थिति नी हुन्न ।  खेलाडीलाई उपयुक्त तलब दिन सकिरहेको हुँदैनन् जसले गर्दा एकातर्फ नेपाली खेलाडीलाई  पेसागत रुपमा खेलाडी नै रहेर जीवननिर्वाह गर्न कठिन हुन्छ भने अर्कातर्फ विदेशी खेलाडी र प्रशिक्षक समेत नेपालको लिग तर्फ आकर्षित हुँदैनन् ।
 
२०७२ सालको भूकम्प पश्चात नेपालको एकमात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशालामा क्षती पुग्यो । यसै कारण नेपालमा घरेलु लिग हुन सकेन । तत्पश्चात पनि लिग गर्न चाहँदा धेरै उपायहरू हुने थिए होलान् तर एन्फाले त्यस कुरामा चासो नै दिएन । २०७२ साल भन्दा अगाडि भएका नेपालका लिगहरूले पनि अन्तराष्ट्रिय स्तर र मापदण्ड पूरा गर्न सकेका थिएनन् । नेपालमा कसरी एउटा प्रतिस्पर्धात्मक र गुणस्तरीय लिग सम्पन्न गर्ने भन्दा पनि नामको मात्र लिग  गराएर लिग सम्पन्न गरियो है भन्ने औपचारिकताका लागि मात्र लिग सञ्चालन गरिदै आएको छ ।
 
यो त भयो भारत र नेपालको फूटबल स्तरमा पछिल्लो क्रममा किन यति धेरै भिन्नता देखियो भन्ने एउटा प्रमुख कारण । यसो हुनुमा अन्य विभिन्न कारणहरू समेत रहेका छन्  । जस्तो  खेलाडी छनोट प्रक्रियामा अनियमिता, एउटै रंगशालाको भर परी अरु अन्तराष्ट्रिय स्तरको रंगशालाको निर्माण नहुनु ( जसका कारण स्तरिय लिग सञ्चालन र अन्तर्राष्ट्रिय टुर्नामेन्ट आयोजना गर्न नसक्नु), एन्फाको निष्क्रियता, स्तरिय प्रशिक्षकको अभाव आदि पर्दछन् । 
 
नेपाली फुटबल केही समय 'ट्रान्जिसन् फेज ' मा चल्यो जसले गर्दा नेपाली फुटबलले सोचेजस्तो फड्को मार्न सकेन । त्यसपछि नेपाली राष्ट्रिय फुटबल टिममा धेरै नयाँ युवा अनुहार रहेका छन्  । यो परिवर्तन अवधिको राम्रो पक्ष भनेको नयाँ खेलाडीहरुले आफ्नो खेल देखाउने र युवा अवस्थाबाटै खेल तिखार्ने मौका पाए  । यस्तै, नराम्रो पक्ष भनेको सिनियर अनुभवी खेलाडी  एक्कासी टीमबाट बाहिरिँदा टिमको स्पिरिट घट्यो र नयाँ पुस्ताले अनुभवी खेलाडीबाट सिक्ने अवसर गुमाए ।
 
निष्कर्षमा भन्नु पर्दा कुनै पनि देशको फुटबलको विकासको गति र स्तरोन्नति त्यहाँको घरेलु लिगको अवस्थामा भर पर्छ । जहाँ घरेलु लिग स्थिर छ, अन्तर्राष्ट्रिय स्तरको छ त्यस देशको फुटबल आफैमा सुध्रिदै जानेछ । फुटबल क्षेत्रमा युरोपियन देशहरूको दबदबा किन छ यसको उत्तर दिनु आवश्यक छैन ।  त्यहाँको घरेलु लिगको स्तर एकदमै माथि छ ।

घरेलु लिगमा जति धेरै लगानी गर्न सक्यो, जति गुणस्तरिय बनाउन सक्यो, जति स्थिर राख्न सकियो त्यति नै धेरै फाइदा त्यस देशको राष्ट्रिय टिमलाई हुनेछ । भारत र नेपालको फिफा बरियतामा यति धेरै भिन्नता आउनुको प्रमुख कारण नै घरेलु लिग हो । भारतीय खेलाडी जो एउटा सिजनमा  ४०-५० प्रतिस्पर्धात्मक खेल खेल्छन् , उनीहरूका विरुद्ध नेपाली खेलाडी जो बल्ल तल्ल एउटा सिजनमा १०-१५ प्रतिस्पर्धात्मक खेल खेल्छन् अनि पूरा समय  लोकल टुर्नामेन्ट खेल्दै कसरी जीविकोपार्जन गरौं भन्ने तिर लाग्छन् । यसले गर्दा  नेपाली खेलाडीको खेलमा अनुभवको कमी अवश्य देखा पर्ने छ ।
 
यसरी थोरै आम्दानी हुँदा न त उनीहरूले आफूलाई चाइने जति पोषणयुक्त खाना खान पाउँछन् न त खेल क्षेत्रलाई नै मात्र जीविकोपार्जनको स्रोत बनाउन सक्छन् । यसरी एउटा छिमेकी देश जो  केही वर्ष अगाडि नेपाल जत्तिकै थियो, त्यो देश एकाएक उकालो लाग्दै गर्दा नेपालले पनि अब आफ्नो घरेलु लिगलाई सुधार्दै नयाँ नयाँ र उत्कृष्ट खेलाडी उत्पादन गर्नमा जोड दिए नेपाली फुटबलको स्तरोन्नति हुनेथियो ।

लिगबाटै नेपालले एक सय एक खेलाडी उत्पादन गर्न सक्छ किनभने नेपालीको फुटबलप्रतिको क्रेज़ अत्यधिक छ, प्यासन छ यसकारण  सिर्फ संबंधित निकायबाट राम्रो व्यवस्थापन हुन सके उत्कृष्ट खेलाडी उत्पादन गर्न कुनै कठिनाई हुने  छैन ।

केशर बहादर दाहाल, दमक, झापा ( यो लेख लेखकको नितान्त आफ्नो बिचार हो) 
Post Comments