News के भन्छन्, भारतीय कप्तान र प्रशिक्षक ?
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री नेपाली फुटबल समर्थक माझ नौलो नाम होईन । नेपाली मूलका क्षेत्रीको नेपालसँग बिशेष सम्बन्ध पनि छ । पुर्खौली घर झापा भएका क्षेत्रीको आमा नेपाल कै पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । उनका आफन्तजनहरु काठमाडौं, पोखरा लगायतको शहरहरुमा पनि छन् ।

उनै क्षेत्रीले नेपाल–भारत बीच हुने मैत्रीपुर्ण फुटबल म्याच अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालप्रति आफ्नो विशेष झुकाव र आत्मियता रहेको बताएका छन् । ”नेपालप्रति मेरो विशेष सदभाव छ भन्ने कुरा म स्वीकार गर्छु । तर जब म नेपाल विरुद्ध मैदानमा प्रवेश गर्छु, नेपालप्रतिको त्यो सदभाव र लगाव समाप्त हुन्छ । मेरी आमा नेपाल कै हुनुहुन्छ । खेलकुदको माहौलमा हुर्किएर मलाई अनुशासित बन्न सिकाउनुमा मेरै आमाको देन छ ।” सुनिलले भने ।

कप्तान क्षेत्रीले खेल मैदानमा नेपाल सधै कठिन प्रतिद्वन्द्वीका रुपमा रहेको बताए । नेपाल विरुद्ध घरेलु मैदान र बाहिर खेल्नु दुई फरक कुरा भएको औल्याउँदै क्षेत्रीले नेपाल तत्कालका लागि घरेलु टोली रहेको कुरा आफूहरुले बिर्सन नहुने बताए ।

साथै क्षेत्रीले मैत्रीपुर्ण फुटबल म्याचका लागि आमन्त्रण गरेकोमा तथा भारतीय टोलीलाई दिइएको विशेष आत्मियताका लागि नेपाल सरकार र एन्फालाई धन्यवाद समेत दिए ।

उता भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले नेपाल विरुद्धको खेलको क्रममा बर्षा बाधक नहोस भन्ने चाहेको बताए । स्टिम्याकका अनुसार बर्षा नभए दुई टोली बीचको खेल थप रोमाञ्चक हुने उनले प्रतिक्रिया दिए । त्यति मात्र नभएर उनले नेपालको पछिल्लो खेलहरु हेरेको र विश्वकप छनौटतर्फ नेपालले राम्रो खेल्दै धेरै सुधार गरेको समेत बताए ।

साथै उनले नेपाल विरुद्धको मैत्रीपुर्ण फुटबल म्याचले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि आफ्नो टोलीलाई राम्रो तयारी गर्न पुग्ने बताए । उनले नेपालले कलात्मक फुटबल पस्किनेमा विश्वास व्यक्त गर्दै यो मैत्रीपुर्ण फुटबल म्याचले दुवै टोलीलाई फाईदा पुग्ने औंल्याए ।

 

Post Comments