News नेपाल बिरुद्ध भारत: आजको खेलमा कसले बाजी मार्ला? - खेल अघीको बिश्लेसण
केशर बहादुर दाहाल
नेपाल भ्रमणमा रहेको भारतीय राष्ट्रिय फुटबल टीमले आज साँझ काठमान्डौं स्थित दसरथ रंगशालामा नेपाल विरुद्ध पहिलो खेल खेल्दै छ । दुई छिमेकी राष्ट्रिय बीच हुने यो खेलका लागि खेलाडीहरू र समर्थकहरु उत्सुक छन् । दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्ने र खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । 
 
दुवै टोली मैदानमा आफ्नै खेल्ने शैली, चाल, जोस, जाँगर र स्पिरिटका साथ उत्रने छन् । यी दुई टिमको वर्तमान फर्म, हेड टू हेड रेकर्ड, खेल्ने चाल, खेल्ने खेलाडी कस्ता छन्, कस्ता हुन सक्छन् भन्ने कुरामा केही विश्लेषण गरौं । 
 
सर्वप्रथम भारतको कुरा गरौं । २०१९ बाट क्रोसियन प्रशिक्षक इगोर स्तिमाकले समालिरहेका छन् भारतीय राष्ट्रिय टिमलाई । प्रशिक्षक कंस्तायन्तटिन पछि भारतीय राष्ट्रिय टीम समालेका स्तीमाकले खासै राम्रो प्रदर्शन दिलाउन सकेका छैनन् । उनको प्रशिक्षणमा भारतको प्रदर्शनमा स्थिरता छैन । उनले भारतीय टीम समाल्दाको सुरुवाती समयमा अट्याकिङ खेल खेलाएका थिए । सुरुवाती पाँच खेलमा पाँच अट्याकिङ मानसिकता भएका खेलाडीलाई मैदानमा उतारेका थिए । तर पछि नतिजा भने अनुरूप नआए पछी उनले यो शैलीलाई हटाएर रक्षात्मक शैली अपनाए । 
 
हुन त भारतले प्रशिक्षक स्तिमाकको प्रशिक्षणमा खेलेका ५०% प्रतिशत खेलका विपक्षी टीम फिफा वरियतामा भारत भन्दा माथिका थिए । त्यसैले पनि सोचेजस्तो नतिजा नआएको मान्न सकिन्छ । यसो भनिरहँदा भारतको आफू भन्दा कमजोर मानिएका अफगानिस्तान र बंगलादेश विरुद्धको प्रदर्शन पनि बिर्सनलायक थियो । यसरी प्रदर्शनमा उतारचढाप आइरहेका कारण एआई एफ एफले स्तिमाकलाई विदाई गर्नु पर्ने समय आएको हो कि भन्ने सम्म पनि नसोचेको होइन ।
 
भारतले आफ्ना पछिल्ला पाँच खेलमा एक खेलमा मात्र जीत निकाल्न सफल भएको छ । भारतले पछिल्लो समयमा उत्कृष्ट प्रदर्शन गर्न सकिरहेको छैन । प्रशिक्षक स्तिमाकको प्रशिक्षणमा भारतले जम्मा १५ खेल खेल्दा मात्र दुई खेलमा जित हासिल गरेको छ भने ६ खेल बराबरी र ७ खेलमा पराजय भोगेको छ । भारतको जीत प्रतिशत १३.३३ रहेको छ । यी १५ खेलमा भारतले १४ गोल गरेको छ भने २७ गोल खाएको छ । 
 
यी कुराहरू भनिरहँदा भारतलाई कमजोर भने अवश्य पनि ठान्नु हुने छैन । खेलाडीहरुमा अनुभवको कमी छैन, अधिकांश खेलाडीहरू आइएसएल र आई लिगका क्लबमा आबद्ध छन् । शारीरिक रूपमा सशक्त छन् । खेलाडीहरू जसले आफ्नो व्यक्तिगत प्रदर्शनको आधारमा खेलको नतिजा कुनै पनि समयमा आफ्नो पोल्टामा पार्ने क्षमता राख्छन् , यस्ता अब्बल खेलाडीहरू रहेको भारतीय टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ । तर यसपटक टोलीमा नपरेका भारतीय खेलाडीहरू आदिल खान, आशिष राई आदि उत्कृष्ट खेलाडीहरूलाई मिस गर्न सक्नेछ ।
 
नेपालको कुरा गर्दा नयाँ प्रशिक्षक अब्दुल्लाहको आगमन संगै नेपालको खेल्ने शैली र खेल्ने मानसिकतामा सकारात्मक परिवर्तन आएको छ । तर नेपालले पनि आफ्ना पछिल्ला खेलहरूमा प्रदर्शन केही सुधारिएको गरे पनि नतिजा भने आफ्नो पक्षमा पार्न सकेको छैन । अट्याकिङ खेल खेलाउन खोज्ने प्रशिक्षक अब्दुल्लाहले खेल्ने शैलीमा फरकपन ल्याए पनि नतिजा राम्रो ल्याउन भने अझै कसरत गर्न आवश्यक रहेको छ ।
 
टीम स्पिरिट त बढेको छ तर खेलाडीमा अनुभवको कमी देखिन्छ । अधिकांश नेपाली खेलाडीहरु युवा छन् । शारीरिक रूपमा पनि नेपाली खेलाडीहरू भारतीय खेलाडी भन्दा कमजोर रहेका छन् । यस्तै नयाँ प्रशिक्षकलाई कुन खेलाडीको सदुपयोग कसरी गर्ने भन्ने बारेपनी सोच्न समय लाग्ने  भएका कारण र प्रशिक्षक र खेलाडीको समन्यो हुन समय लाग्ने कुराहरुमा भने नेपाललाई माइनस पोइन्ट हुनेछ ।
 
नेपालले आफ्ना पछिल्ला ५ खेलमा २ खेलमा जित र ३ खेलमा हार बेहोरेको छ । नेपालले यी ५ खेलमा ६ गोल गरेको छ भने १३ गोल खाएको छ । 
 
फिफा वरियतामा नेपाल भारत भन्दा कमजोर रहे पनि नेपाल भारत विरुद्ध सधैँ उत्कृष्ट प्रदर्शन गर्न रुचाउँछ । दुई छिमेकी राष्ट्र मध्य को चाँही उत्कृष्ट भन्ने गज्जबको प्रतिस्पर्धा रहने गरेको छ । यो प्रतिस्पर्धाका कारण पनि खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । युवाहरुको जमात रहेको नेपाली टोलीका अनुभवी खेलाडीहरू किरण चेम्जोङ जसले भारतीय लिगमा समेत आफ्नो प्रभाव देखाइसकेका छन्, अन्जन बिष्ट, बिशाल राइ, सन्तोष तमाङ जसले आफ्नो छुट्टै पहिचान बनाएका छन्, यी खेलाडीहरूबाट नेपालले राम्रो प्रदर्शनको अपेक्षा गर्ने छ ।
 
पक्कै पनि नेपालको लक्ष्य जीत नै हुनेछ ।  यो खेल जित्नका लागि धेरै रक्षात्मक भन्दा पनि नेपालले एट्याकिङ खेल खेल्नेछ र नेपाली टिम उच्च आत्मबलका साथ खेल्नेछ  किनभने आफू भन्दा बलियो भारत विरुद्ध नेपालले घरेलु मैदान र नेपाली समर्थकको उपस्थितिको फाइदा उठाउन पाउने छ ।
 
नेपाल र भारतको हेड टू हेडको इतिहास भने भारतको पक्षमा रहेको छ । 

अहिले सम्म नेपालले भारत विरुद्ध १९ खेल खेलिसकेको छ जसमा नेपालले २ खेलमा मात्र जीत निकाल्न सफल रहेको छ भने १३ खेलमा हार बेहोरेको छ । यस्तै, ४ खेल भने बराबरीमा टुंगिएको छ । पछिल्लो पटक यी दुई टीमको भेट २०१७ मा मुम्बईमा  भएको मैत्रीपूर्ण खेलमा भएको थियो जसमा भारत २-० ले विजयी भएको थियो ।
 
दुवै टिमका प्रशिक्षकले आफ्नो टीम जित्न कै लागि खेल्ने बताएका छन् । त्यसैले बुझ्न सकिन्छ कि दुवै टीम खेलमा सिर्फ रक्षात्मक भएर बस्ने छैनन्, गोल गर्न अगाडि बढ्नेछन् । मिड फिल्डमा जसले पक्कड बनाउन सक्यो, जुन टीमले जोखिमपूर्ण पासहरु खेल्दै स्ट्राइकरको खुट्टामा बल पुर्याउने आँट गर्यो , गोल त्यही टीमले गर्नेछ , जीत त्यही टिमको हुनेछ । यस्तै, प्रशिक्षकद्वारा खेलाईने टिमको फर्मेसन र सुरुवाती ११ को छनौटले पनि खेल कुन टीमले जित्ने छ भन्ने भर पर्नेछ । किनभने जसको निर्णय सही साबित हुनेछ, जसको रणनीति उत्कृष्ट हुनेछ, जीत उसकै हुनेछ ।

यो खेलमा भारतले आफ्नो कमजोर प्रदर्शनको अन्त्य गर्दै नेपाल विरुद्ध उत्कृष्ट प्रदर्शन गर्न खोज्नेछ भने नेपालले पनि भारतलाई कडा चुनौती दिँदै अब नयाँ प्रशिक्षक र युवा खेलाडीहरु समेटेर बनेको नेपाली  फुटबलको नयाँ युग सुरु भएको सन्देश दिन खोज्नेछ ।
Post Comments