News जापान स्तब्ध, दक्षिण कोरियाको बराबरी
गोलनेपाल

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप २०२२ को एसियाली छनौटतर्फ फाइनल राउण्डको खेलमा एसियन पावर हाउस जापानले आफ्नो पहिलो खेलमै स्तब्धपुर्ण हार बेहोरेको छ ।

बिहीबार घरेलु मैदान सुईटा स्थित सुईटा सिटी फुटबल स्टेडियममा भएको समूह बी तर्फको आफ्नो पहिलो खेलमा जापानले ओमानसँग १–० को स्तब्धपुर्ण हार बेहोरेको हो ।

ओमानको जितमा इसाम अल साभीले खेलको अन्तिमतिर ८८औं मिनटमा एक मात्र निर्णायक गोल गरे । समूह बी तर्फ ओमान र जापानसँगै अष्ट्रेलिया, साउदी अरेबिया, चीन रहेका छन् ।

स्मरण रहोस, विश्वकपको एसियाली छनौटतर्फ दोस्रो चरणमा ओमान र भारत एकै समूहमा थिए । त्यतिबेला ओमानले भारत विरुद्ध २–१ र १–० को जित हात पारेको थियो ।

त्यस्तै समूह ए तर्फ दक्षिण कोरिया, इराक, इरान, युएई, सिरिया र लेबनान रहेका छन् । बिहीबार नै भएको समूह ए तर्फको पहिलो खेलमा दक्षिण कोरियाले पनि इराकसँग गोलरहित बराबरी खेल्यो ।

इराकले गत मईमा भएको नेपाल विरुद्धको मैत्रीपुर्ण फुटबल म्याचमा ६–२ को जित निकालेको थियो । विश्वकपको एसियाली छनौटतर्फ अन्तिम चरणमा पुगेका १२ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहको शिर्ष दुई टोली आगामी बर्ष कतारमा हुने फिफा विश्वकपका लागि सोझै छनौट हुनेछन् भने तेस्रो स्थान हासिल गर्ने दुई टोलीबीच प्ले अफ भिडन्त हुनेछ ।

 

 

Post Comments