News नेपाल १ भारत १ - खेल पछीको बिश्लेसण
केशर बहादुर दाहाल

दुई मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको भारत विरुद्ध नेपालले पहिलो खेलमा १-१ को बराबरी खेलेको छ ।

डिफेन्डर कोन्साम सिंहले गोलकिपर गुरप्रीतसिंहलाई दिएको फितलो पासको सदुपयोग गर्दै अञ्जन विष्टले नेपाललाई खेलको ३५ औं मिनेटमा अग्रता दिलाए । सन् २०१५ मा विमल घर्ती मगरले गरेको गोलपछि पहिलो पटक नेपालले भारतविरुद्ध  गोल गरेको हो ।

यस्तै, दोस्रो हाफ पछि भारतीय कप्तान सुनिल क्षेत्रीले प्रहार गरेको शक्तिशाली बललाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाउ गरे पनि रिबाउन्डमा अनिरुद्ध थापाले गोल गर्दै खेललाई बराबरी गोल गरेका थिए । 

यी दुई मुलुकले आफ्नो पहिलो मैत्रीपूर्ण खेलमा समग्रमा कस्तो प्रदर्शन गरे त ?

भारतीय टीमले आफ्नो फिफा वरियता र टिमको स्तर अनुसार नेपाल विरुद्ध प्रदर्शन गर्न सकेन । भारतीय टीमबाट यो भन्दा धेरै उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको थियो । नेपाली भूमि र दसरथ रंगशालामा नेपाली समर्थकको बेजोड उपस्थितिका कारण हुन सक्छ, भारतीय टीम त्यति निर्धक्क देखिएको थिएन । पहिलो हाफमा भारतको प्रदर्शन फितलो रहेको थियो । भारतले पहिलो हाफमा आफ्नो कुनै पनि प्रहार निशानामा लगाउन सकेन । 

४-४-२ को फरमेसन खेलाएका प्रशिक्षक स्तिमाकले ४ मिडफिल्डर राखेर होल्डिङ मिडफिल्डरको प्रयोग गर्दै खेल आफ्नो नियन्त्रणमा राख्ने सोचेको थिए । तर नेपाली खेलाडीले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो नियन्त्रणमा लिएका थिए । विशेष गरी भारतीय कप्तान सुनिल क्षेत्रीलाई म्यान मार्किङ गर्दै उनलाई रोक्ने नेपाली प्रशिक्षकको रणनीति पहिलो हाफमा अत्यन्तै फलदायी रह्यो । 

तर दोस्रो हाफमा भने भारत लयमा देखिएको थियो । भारतले आफ्नो अट्याकिङ खेल देखाएको थियो । बल पोजिसन आफूसँग  राख्दै, उच्च आत्मबल साथ १-२, १-२ पास खेल्दै नेपालको डीबक्समा लगातार बल पुराएको थियो । दोस्रो हाफमा भारतको प्रदर्शन उत्कृष्ट हुनुमा दोस्रो हाफ पछि भारतीय प्रशिक्षकले गरेको खेलाडी परिवर्तन पनि प्रमुख कारण हुन सक्छ । लगातार नेपाल विरुद्ध दबाव सिर्जना गरेको भारतका सुनिल क्षेत्री, सुबसिस बोस आदि खेलाडीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालको कुरा गर्ने हो भने पहिलो हाफमा नेपालले उत्कृष्ट प्रदर्शन गर्यो । बल नेपालीको खुट्टामा हुँदा या त बल नहुँदाको स्थिति होस, नेपाली खेलाडीले पहिलो हाफमा निकै मेहेनत गरेर खेलेका थिए । आफू सँग बल नहुँदा पनि डिफेन्डर र मिडफिल्डरले उच्च दबाव दिँदै तिब्रताका साथ खेलेका थिए । त्यही दबाबको परिणाम हुन सक्छ, भारतीय डिफेन्डरले मिस पास गरेका थिए र त्यो गल्तीको फाइदा नेपालले उठाएको थियो । प्रशिक्षक अब्दुल्लाहले  आक्रामक खेलाउने  आफ्नो शैलीलाई  निरन्तरता दिँदै ४-३-३ को फरमेसन खेलाएका थिए । युवा खेलाडी आयुष घलनलाई सुरुवाती ११ मा खेलाएर जोखिम मोलेका प्रशिक्षक अब्दुल्लाहले भने अनुरूप नेपालले सुरुवातबाटै उच्च आत्मबलका साथ खेल खेल्यो । 

पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडीले सोही प्रदर्शनलाई निरन्तरता दिन सकेनन् । पहिलो हाफको तुलनामा नेपालले धेरै मिस पास खेलेको देखिन्थ्यो भने खेलाडीको डिसिजन मेकिङमा समस्या देखिन्थ्यो । नेपालले दोस्रो हाफमा पहिलो हाफको जस्तो भारत विरुद्ध हावी हुन सकेन । यसैकारण, भारतले नेपालको जालीमा बराबरी गोल फर्काउन सफल रह्यो । 

किरण चेम्जोङले  केही उत्कृष्ट बचाउ गरेपनि उनले आफ्नो स्तर अनुसारको खेल देखाउन सकेनन् । पास वितरणमा उनी निर्धक्क देखिएका थिएनन् भने सुनिल क्षेत्रीको शक्तिशाली प्रहार बचाउ गरेपछि उनी तत्कालै त्यति सजक भएनन् जसले गर्दा थापाले रीबाउन्डमा आएको बललाई जाली चुमाएका थिए । नवयुग श्रेष्ठको प्रदर्शन पनि खासै सन्तोष जनक देखिएन । सुमन लामा, दिनेश राजवंशी, अञ्जन विष्ट आदिले भने खेलमा प्रभाव देखाएका थिए ।

समग्रमा भन्नु पर्दा पहिलो हाफमा नेपालको प्रदर्शन तारिफ योग्य थियो भने दोस्रो हाफ भारतको पक्षमा रह्यो । आजको दुवै टोलीेको प्रदर्शन सन्तोषजनक नै रहेको थियो ।  खेलमा कुनै समय नेपालको  पकड़ थियो त कुनै बेला भारतको । यसो भनिरहँदा वरियता क्रममा नेपाल भन्दा धेरै  माथि रहेको भारतलाई भने यो नतिजा टाउको दुःखाइ भन्न सक्नेछ । अब  सेप्टेम्बर ५ मा हुने खेलमा दुवै टोलीले आजको उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिंदै र आजको कमजोर पक्षलाई सुधार्दै खेल आफ्नो नियन्त्रणमा लिएर जीत हासिल गर्न अवश्य पनि खोज्नेछन् ।

Post Comments