News दशरथ रंगशालामा फेरि अन्तर्राष्ट्रिय फुटबल म्याच, टिकट मूल्य पनि तय
गोलनेपाल

काठमाडौं । नेपाल र भारतीय पुरुष फुटबल टोलीबीच अन्तर्राष्ट्रिय फुटबल म्याच सकिए लगतै दशरथ रंगशालामा अर्को दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच हुने तय भएको छ ।

नेपालको राष्ट्रिय महिला फुटबल टोलीले यहि भदौ २४ र २७ गते (सेप्टेम्बर ९ र १२) का दिन बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । साथै मैत्रीपुर्ण फुटबल म्याचका लागि बंगलादेशी महिला फुटबल टोली सोमबार बिहान नेपाल आइपुग्ने एन्फाले जनाएको छ ।

स्मरण रहोस, हाल नेपाली महिला फुटबल टोली आगामी बर्ष भारतमा हुने एएफसी वुमन्स एसियन कपको तयारीमा छ । छनोट प्रतियोगिता अन्तरतग नेपाल बलियो फिलिपिन्स र हङकङसँगै समूह एफमा परेको छ । समूहको शिर्ष एक टोली २०२२ एएफसी वुमन्स एसियन कपका लागि छनौट हुनेछ । छनौट प्रतियोगिता अन्तरगत समूह एफकाका खेलहरु उज्वेकिस्तानमा हुनेछ ।

टिकट मुल्य पनि तय

एन्फाले नेपाल र बंगलादेशबीचको महिला फुटबल टोलीबीच हुने मैत्रीपूर्ण म्याचका लागि टिकट मुल्य पनि तय गरेको छ । जसअन्तरगत सामान्यतर्फ टिकट मुल्य २०० र भिआईपीतर्फ ५०० रुपैयाँ तोकेको छ । साथै दर्शकहरुले म्याच टिकट प्रभु पे मार्फत समेत खरिद गर्न सक्ने एन्फाले जानकारी दियो ।

Post Comments