News बंगलादेशी फुटबल टोली नेपाल आइपुग्यो
गोलनेपाल

काठमाडौं । नेपालसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच खेल्न बंगलादेशको राष्ट्रिय महिला फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ । काठमाडौं ओर्लिए लगतै बंगलादेशी फुटबल टोलीको पिसिआर परिक्षण गरिएको थियो ।

सबैको रिपोर्ट मंगलबार आउने र रिपोर्ट आएपछि बंगलादेशी महिला फुटबल टोलीले अभ्यास शुरु गरिहाल्ने बताइएको छ । नेपाल र बंगलादेशबीच यहि भदौ २४ र २७ गतेका दिन दशरथ रंगशालामा दुई अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याच हुँदैछ ।

सो मैत्रीपुर्ण फुटबल म्याचका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट मूल्य समेत तोकिसकेको छ । जसअनुसार दर्शकहरुका लागि सामान्यतर्फ २०० र भिआइपीतर्फ ५०० टिकट मुल्य तोकिएको छ । साथै उक्त टिकटहरु प्रभु पे मार्फत डिजिटल रुपमा पनि खरिद गर्न सकिने छ ।

स्मरण रहोस, नेपाल र बंगलादेश दुवै टोली यहि महिना हुन गईरहेको एएफसी वुमन्स एसियन कप छनौट प्रतियोगिता खेल्ने तयारीमा छन् । जसअन्तरगत समूह एफमा रहेको नेपालले हङकङ र फिलिपिन्ससँग खेल्नेछ भने समूह जीमा रहेको बंगलादेशले जोर्डन र इरानसँग खेल्ने कार्यक्रम छ ।

Post Comments