News आयोजक सुकचर च्यालेञ्ज कपको फाइनलमा
गोलनेपाल

सुकचर । आयोजक नव युवा क्लब सुकचर ११, मोरङ जारी प्रथम सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा रोमाञ्चक पूनःरागमन गर्दै योङ ब्वाईज फुटबल क्लबलाई २–१ ले हराएर आयोजकले फाइनल स्थान पक्का गरेको हो ।

बुढिगंगा खेलमैदानमा भएको खेलको चौथो मिनटमै बिकास परियारको गोलबाट योङ ब्वाईजले खेलमा अग्रता बनाएको थियो । तर ३३औं मिनटमा शंकर चौधरीले पेनाल्टीबाट आयोजकका लागि बराबरी गोल फर्काए ।

लगतै ३६औं मिनटमा तिर्थ बस्नेतले दोस्रो तथा निर्णायक गोल गर्दै आयोजकको रोमाञ्चक जित पक्का गरे । खेलको म्यान अफ द म्याच आयोजक नव युवा कै अजित चौधरी घोषित भए ।

अब उपाधिका लागि फाइनलमा नव युवाले असोज ४ गतेका दिन बिराटनगर स्पोर्टस एकेडेमीसँग खेल्नेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ ।

Post Comments