News साफ अघि नेपाल र ओमानको भिडन्त पक्का
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित साफ च्याम्पियनसिपका लागि कतारको दोहामा बन्द प्रशिक्षण गरिरहेको नेपालले बलियो ओमानसँगै मैत्रीपुर्ण फुटबल म्याच खेल्ने भएको छ ।

फिफा वरियताको ७८औं स्थानमा रहेको ओमानसँग १६८औं वरियताको नेपालले यहि सेप्टेम्बर २६ तारीख (असोज १० गते) आइतबारका दिन मैत्रीपुर्ण म्याच खेल्नेछ । स्थानीय समयअनुसार बेलुका ७ बजेदेखि शुरु हुने खेल दोहा स्थित कतार युनिभर्सिटी ग्राउण्डमा हुनेछ ।

नेपालले केही दिन अघि मात्र कतारको दोस्रो डिभिजनको टोली अल बिड्डा स्पोर्टस क्लबसँग मैत्रीपुर्ण फुटबल म्याच खेलेको थियो । त्यो खेलमा नेपाल २–० ले विजयी समेत भएको थियो ।

उता हाल राम्रो लयमा रहेर फिफा विश्वकप छनौटको तेस्रो राउण्ड खेलिरहेको ओमानले यहि सेप्टेम्बर २ तारीखका दिन एसियन पावर हाउस जापानलाई उसकै घरमा १–० ले हराएको थियो ।

ओमानसँगको मैत्रीपुर्ण खेलबारे अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि आधिकारिक रुपमा पुष्टी गरेको छ । ओमानसँगको मैत्रीपुर्ण खेलपश्चात २८ सेप्टेम्बरका दिन नेपाली टोली माल्दिभ्सतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

आगामी अक्टुबर १ तारीखदेखि माल्दिभ्सको माले सिटीमा शुरु हुन गईरहेको प्रतिष्ठित साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

 

 

 

Post Comments