News झापामा दिलमाया स्मृति कप वडास्तरीय फुटबल हुने
रमेश समदर्शी

झापाको विभिन्न चार स्थानमा मंगलबार देखि दिलमाया स्मृति कप २०७८ झापा जिल्ला क्षेत्र नं. ४ वडास्तरीय फुटवल प्रतियोगिता हुने भएको छ ।

क्षेत्र नं. ४ का पाँच वटा पालिकाका २८ वटा वडाका टिमले सहभागिता जनाउने प्रतियोगिताको विजेताले नगद २ लाख २५ हजार पाउने छ । त्यस्तै, उपविजेता टोलीले नगद १ लाख २५ हजारमा चित्त बुझाउनु पर्नेछ ।

शिवसताक्षीका बुद्धिमान साँवा लिम्बुको प्रायोजन तथा साँवा परिवारको संरक्षणमा दिलमाया स्मृति कप हुने सोमवार सुरुङामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एलपी साँवाको ममतामयी माता स्वर्गीय दिलमायाको सम्मानमा फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।

नेपाल खेलकुद महासंघको आयोजनामा हुने फुटवल प्रतियोगितामा झापा क्षेत्र नं. ४ मा पर्ने कनकाई नगरपालिका र झापा गाउँपालिकाका ७ ७ वटा वडा, शिवसताक्षी नगरपालिकाका ११ वटा वडा, गौरादह नगरपालिकाका १ वटा र गौरीगञ्ज गाउँपालिकाका २ वटा वडाले प्रतिस्पर्धा गर्नेछन् । २८ वटा वडाका टिमले प्रिसेलेक्शन म्याच खेलेपछि अन्तिम आठ वटा टिमलाई उपाधिको प्रतिस्पर्धामा समावेश गरिने आयोजक समितिका संयोजक सुनिल भेटवालले जानकारी दिए । उनका अनुसार प्रिसेलेक्सन खेल सबै पालिकाले तोकेको खेल मैदानमा हुनेछ भने माइवारि ४ वटा र माइपारीबाट ४ वटा टिम उपाधि भिडन्तमा हुनेछन् ।

क्वाटर फाइनलका खेलहरु कार्तिक ८ गतेबाट सञ्चालन गरिने खेल आयोजक समितिका संयोजक भेटवालले जानकारी दिए । दिलमाया स्मृति कप–२०७८ को फाइनल खेल कार्तिक १६ गते दूधेको खेल मैदानमा हुनेछ । आयोजकले उपाधि होडबाट बाहिरिने टिमलाई पनि पुरस्कारको व्यवस्था गरेको छ । जसअनुसार क्वाटरफाइनलबाट बाहिरिने ४ टिमले १५र१५ हजार , सेमिफाइनलबाट बाहिरिने टिमले २५र२५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

खेल व्यवस्थापन संयोजकको जिम्मेवारी गजेन्द्र ताम्ली लिम्बुलाई प्रदान गरिएको छ । पत्रकार सम्मेलनमा स्वर्गीय दिलमायाका छोरा एलपी साँवाले आमाको स्मृति एवम् सम्झनामा फुटवल आयोजना गरेको बताएका छन् । प्रतिनिधिसभा सदस्य एवम् एमाले नेता साँवाले कोरोना महामारीले आम नागरिकको जीवन समस्या परेकोले सामान्य जीवनतर्फ फर्काउन फुटवल महत्वपूर्ण हुने दाबी गरे ।

पत्रकार सम्मेलनमा नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, एमाले नेता शिव ढुङ्गेल, झापा जिल्ला फुटवल संघका अध्यक्ष भगीरथ आले मामा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Post Comments