News साफमा कसैसँग नडराउने कप्तान किरन
गोलनेपाल

काठमाडौं । दक्षिण एसियाली फुटबलको महाभिडन्त साफ च्याम्पियनसिपका लागि माल्दिभ्स पुगेको नेपाली फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरन चेम्जोङले आफूहरु कसैसँग नडराउने बताएका छन् ।

राजधानी माले सिटीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै किरनले सो कुरा बताएका हुन् । किरन भन्छन्, “हामी सबै टिम र समर्थकहरुलाई सम्मान गर्छौ । हामी यहाँ उत्कृष्ट टोलीको हैसियतले आएका छौं । हामी गोर्खाली हौं । कसैसँग डराउने छैनौं । मैदानमा निश्चित नतिजाका लागि खेल्नेछौं ।”

शुक्रबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको पहिलो दिन नै नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्दैछ । किरनले माल्दिभ्सलाई घरेलु मैदान र समर्थकको साथ रहने बताए तापनि त्यसले आफूहरुको आत्मविश्वास र मनोबलमा कुनै असर नगर्ने बताए । साथै उनले सबै टिमहरुप्रति आफ्नो विशेष सम्मान रहेको समेत बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र श्रीलंका भिड्ने कार्यक्रम छ । नेशनल फुटबल स्टेडियममा हुने उद्घाटन खेल स्थानीय समयअनुसार ४ बजेदेखि शुरु हुनेछ । त्यस्तै नेपाल र माल्दिभ्स भने राती स्थानीय समयअनुसार ९ बजे भिड्ने छन् । जुन नेपाली समयअनुसार ९ः४५ बजे हुनेछ ।

यसपटक दक्षिण एसियाका कुल ५ टोलीहरुले मात्र प्रतियोगितामा सहभागिता जनाउँदै छन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल आउँदो अक्टुबर १६ तारीखका दिन हुनेछ ।

Post Comments