News अग्रता लिएर पनि बराबरीमा रोकियो भारत
गोलनेपाल

काठमाडौं । शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसकेको दावेदार भारत साफ च्याम्पियनसिपतर्फ आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

सोमबार माले सिटी स्थित नेशनल स्टेडियममा भएको खेलमा भारतले दश खेलाडीमा सिमित बनेको बंगलादेशसँग १–१ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो ।

भारतले पहिलो हाफको २६औं मिनटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट खेलमा अग्रता बनाएको थियो । उदण्ट सिंहको पासलाई सदुपयोग गर्दै क्षेत्रीले भारतलाई खेलमा अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५४औं मिनटमा विश्वनाथ घोषले रातो कार्ड खाँदै मैदान छाड्दा बंगलादेश दश खेलाडीमा खुम्चिन पुग्यो । तर बंगाली टोलीले हार भने मानेन । ७४औं मिनटमा बक्स भित्र रहेका यासिन अराफतले हेड गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएका थिए ।

यो नतिजासँगै २ खेलबाट ४ अंक जोडेको बंगलादेश अपराजित छ । भारतले भने १ अंक जोडेको छ । भारतले आफ्नो दोस्रो खेल बिहीबार श्रीलंकासँग खेल्नेछ भने सोही दिन बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

स्मरण रहोस, बंगलादेशले प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंकालाई १–० ले हराउँदै विजयी शुरुवात गरेको छ ।

Post Comments