News साफमा नेपालको लगातार दोस्रो जित
गोलनेपाल

काठमाडौं । माल्दिभ्समा जारी प्रतिष्ठित साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । लिगचरणको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक जित निकाल्यो ।

माले सिटी स्थित नेशनल फुटबल स्टेडियममा सम्पन्न खेलमा नेपालले सुमन लामाको गोलबाट खेलमा अग्रता लिएको थियो । ३०औं मिनटमा लामाले बक्स नजिकैबाट गरेको कडा प्रहार बारमा लागेर फर्किदा सोही बललाई फेरि उनले नै गोलमा परिणत गर्न सफल भएका थिए ।

पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो भने दुई गोल पनि खान पुग्यो । ५१औं मिनटमा आयुष घलानको पासमा बक्स भित्रबाट अन्जन बिष्टले दोस्रो गोल थपे । यद्यपि लगतै ५६औं मिनटमा श्रीलंकाका लागि मार्विन हेमिल्टनको कडा प्रहार गोलमा परिणत हुँदा श्रीलंकाले खेलमा फर्किने संकेत देखायो ।

त्यस्तै खेलको ८५औं मिनटमा आयुष घलानले बक्स भित्र विपक्षी गोलरक्षक र डिफेन्डरलाई बिट गर्दै सटिक गोल गर्दा खेल ३–१ को स्थितिमा पुगेको थियो । तर खेलको अन्तिमतिर श्रीलंकाले पेनाल्टीको अवसर पायो । गौतम श्रेष्ठले बक्स भित्र बल ह्याण्डल गरेपछि श्रीलंकाले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई ९०+२औं मिनटमा डिलोन डि सिल्वाले गोलमा परिणत गरेपछि खेल ३–२ को निर्णायक नतिजामा पुगेको थियो । स्मरण रहोस, श्रीलंकाका लागि गोल गर्दै दुवै खेलाडी हेमिल्टन र डि सिल्वाका लागि त्यो डेब्यु गोल समेत थियो । खेलमा नेपालका अन्जन बिष्ट म्यान अफ द म्याच घोषित भए ।

यो हारसँगै श्रीलंकाको फाइनल पुग्ने सम्भावना कठिन बनेको छ भने नेपालको बलियो भएको छ । लगातार दोस्रो जित हात पारेको नेपालको ६ अंक भएको छ भने श्रीलंका अंकविहीन छ ।

नेपालले आफ्नो तेस्रो खेल १० अक्टुबर (आउँदो आइतबार) का दिन भारतसँग खेल्नेछ । भारतले सोमबार नै भएको आफ्नो पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको थियो ।

श्रीलंका विरुद्ध नेपालको यो पाँ बर्ष पछिको जित हो । यसअघि सन् २०१६ को जनवरी १३ तारीखका दिन ढाकामा भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फुटबल म्याचमा नेपालले १–० को जित निकालेको थियो ।

Post Comments