News फुटसल लिगको फाइनलमा स्पोर्टस क्यासल
उमेश पुन

पोखरा । लिगको शुरुवातबाटै उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको घरेलु टोली स्पोर्टस क्यासल जारी राष्ट्रिय फुटसल लिग प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा स्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको पहिलो प्ले अफ म्याचमा स्पोर्टस क्यासलले द राइजिङ क्लब, धरानलाई ८–६ ले हराउँदै लिग उपाधि नजिक पुगेको हो । खेलमा स्पोर्टस क्यासलका किशोर गुरुङ म्यान अफ द म्याच घोषित भए ।

उता पराजित द राइजिङ क्लबको फाइनल प्रवेशको सम्भावना अझै पनि कायम छ । दोस्रो प्ले अफमा सबिन मेमोरियल र शंखमुल फुटसल भिड्ने छन् । दोस्रो प्ले अफ म्याचको विजेताले द राइजिङ क्लबसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

लुम्बिनी फुटसल र झरना स्पोर्टस क्लब, रुपन्देही लिगको रेलिगेशनमा परिसकेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

 

Post Comments