News पुर्व कप्तान अनिल बने स्वस्तिश्रीको ब्रान्ड एम्वासडर
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्वासडर बनेका छन् । अनिललाई बुधबार स्कुलले फुटबलको ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो ।

बुधबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकार र अनिल गुरुङले हस्ताक्षर गरे । सम्झौता दीर्घकालीन बताइएको छ ।

सम्झौतापछि अनिलले खेलाडीलाई दिएको यो प्लेटफर्म र स्वस्तिश्री गुरुकुलसँग जोडिन पाउँदा खुशी लागेको बताउँदै आफ्नो तर्फबाट राम्रो गर्ने बताए । स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले ब्रान्ड एम्वासडर बनेका अनिललाई स्कुलमा स्वागत गर्दै फुटबलको हितमा यो कोसेढुंगा सावित हुने बताए ।

त्यस्तै अध्यक्ष चित्रकारले यहाँ फुटबलसँगै फुटसल, बास्केटबल, स्वीमिङ र टेवल टेनिसको पुर्वाधार तयार रहेको स्वस्तिश्री गुरुकुल स्पोर्ट्स एकेडेमी स्पोर्ट्स हवको रुपमा बढाउने लक्ष्य रहेको जानकारी दिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले स्वस्तिश्री गुरुकुललाई राम्रो कामको सुरुवात गरेकोमा विद्यालय परिवारलाई धन्यवाद दिए । सोही अवसरमा स्वस्तिश्री गुरुकुल हाताभित्रै निर्माण भएको फुटसल कोर्टको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकार, स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन चित्रकार, प्रिन्सिपल डाक्टर हिमलाल घिमिरे, शैक्षिक निर्देशक प्रविण मोक्तान र एन्फाका सहमहासचिव तथा थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशीको उपस्थिति रहेको थियो । सोही अवसरमा शिक्षक र अभिभावकबीच मैत्रीपुर्ण खेल खेलाइदा अभिभावक टोली १–० ले विजयी भएको छ ।

Post Comments